Breaking

लोसार मनाउने परम्परागत विधि प्रक्रिया, कुन दिन कसरी मनाउने ?

किन मागिन्छ ‘टाशी मोलम’ ? साँस्कृतिक सौन्दर्यताकोे लोसार


काठमाडौँ — नेपाल सांस्कृतिक सम्पदाको धनी देश यहाँका जातजाति र समुदायको आ–आफ्नै परम्परागत चाडपर्व छन् । आफ्नै जातीय तथा धार्मिक परम्पराअनुसार नयाँ वर्ष मनाउने चलन पनि छ । नेपाली समाजमा विभिन्न समुदायले फरक–फरक समयमा विविध नामले लोसार मनाउँदै आएका छन् । गुरुङ समुदायले पात्रोलाई आधार मानेर पुस १५ गते लोसार मनाउँछ । तामाङ र शेर्पा समुदायले भने तिथिमा आधारित रहेर लोसार मनाउने गरेका छन् । यसअनुसार शेर्पा समुदायको ‘२१४९औँ छु फो ताग लो ग्याल्पो लोसार’ फागुन १९ गते बिहीबारदेखि सुरु हुने छ ।

लोसार मनाउने परम्परागत विधि, पूर्वतयारी, कार्यान्वयन र समापन गरी तीन चरणमा विभाजन गरिएको पाइन्छ । लोसार सुरु हुनुभन्दा डेढ महिनाअघि नै शुभ साइत हेरी लोसारको सगुनको लगि चाहिने पेय पदार्थ तयार गर्ने परम्परा छ । साथै, १५ दिनअघि नै गमला वा गमला जस्तै भाँडोमा नयाँ पालुवाको लागि उवा, गहुँ, जौ आदि बिउ राखेर च्याङमा जमरा उमारिन्छ । यसका साथै गाउँघर, बाटोघाटो, टोल–चौतारा आदिको सरसफाइ, रङ्गरोगन र लिपपोत गरिन्छ । परिवारका सदस्यका लागि नयाँ लुगा खरिद गरिन्छ । साथै, एक विशेष प्रकारको खप्से रोटी जस्तै बनाइन्छ, र घरबाट टाढा रहेका अन्य परिवारका सदस्यहरुको घर आगमन सुरु हुन्छ ।
गुथुक खाने परम्परा
लोसार शुरु हुनु दुई दिन अघि, अर्थात् १२ औँ महिनाको औँसीको अघिल्लो दिन यो वर्षको फागुन १७ गते वा ङिश्यु गु कृष्णपक्षको चतुर्दशीका दिन घरभित्र र वरिपरि सरसफाइ गरी निस्किएको फोहोर, पुराना लुगा–कपडा, केही सिक्का, नुन र खुर्सानी नाङ्लोमा राखी तीनवटा बाटोको संगम भएको स्थानमा लागि फाल्दा ग्रहदशा जाने र घरमा शुभ–लक्षण भित्रिने विश्वास गरिन्छ । त्यस दिन गुम्बाहरूमा लामाद्वारा पूजा पाठ गर्ने चलन छ । त्यही साँझ एक विशेष प्रकारको परिकार ‘गुथक’ थुक्पा जस्तै खाने चलन छ । गुथुकको शाब्दिक अर्थ गु नौ थुक मिश्रण अर्थात् नौ प्रकारको विभिन्न खाद्यवस्तु मिश्रण गरी बनाइएको एक प्रकारको खाने परिकास हो ।

यसलाई नयाँ वर्षको भाग्य परीक्षणका रूपमा लिइन्छ । जसको भागमा जुन प्रतीक पर्छ, सोहीअनुसार फल मिल्छ भन्ने मान्यता छ । जस्तै, सूर्यको प्रतिमा तेज प्रताप बढ्ने, चन्द्रमाको प्रतीकमा प्रसिद्धि बढ्ने, तोर्माको प्रतिकमा इमान्दार बन्ने र धर्मशास्त्रको ठेलीको प्रतीकमा विवेकशील बन्ने विश्वास गरिन्छ । यस्तै, चारपाटे आसनको प्रतीकमा आनन्दित हुने प्रतीकमा सम्पन्न बन्ने, ताराको प्रतिकमा छुच्चो हुने, खुर्सानीको प्रतीकमा चलाख हुने, कोइलाको प्रतीकमा मन कालो हुने र डमरुको प्रतीकमा मन चञ्चल हुने विश्वास गरिन्छ । मनोरञ्जनपूर्वक पुरानो वर्षलाई बिदा र नयाँ वर्षलाई स्वागत गर्ने चलन छ ।

गुथुकको भोलिपल्ट अर्थात् औँसीको दिन यस वर्षको फागुन १८ गते पूजा कोठामा पहिला तयार पारिएको छ्याङ जाँड याङछाङ, छिमार, जमरा, खप्से, विस्कुट, मिठाइ, नुन, दूध र घिउ मिसाएर विभिन्न आकारमा बनाएको एक प्रकारको रोटी हो । छिमार भनेको सातुमा नौनी, मह, चिनी, दुध मिसाएर बनाइएको प्रसाद हो ।

लोसारको पहिलो दिन

यस वर्ष फागुन १९ गते लोसार सुरु हुँदै छ । यो दिन सबेरै उठेर नुहाइधुवाइ गरी नयाँ लुगा लगाएर कुवा धारामा गई नागको पूजा गरिन्छ । धारामा घिउको टिका लगाई खप्से, खाँदा, फलफुल धुपबत्ती चढाई ढोगेर नाग देवतालाई खुसी पारिन्छ ।
यसपछि पानी मागेर ल्याई घरको पूजा कोठामा अर्थात् छोसुम त्रिरत्नलाई पूजा गर्न बनाइएको स्थानमा भगवान् बुद्ध वा कुल देवताहरूलाई खुशी बनाई शुद्ध पानी खप्सेलगायत चढाएर ‘टाशी मोलम’ अर्थात् मंगलवाचन गर्दै नयाँ वर्ष लोसार शान्तिमय वातावरणमा बितोस् भनी पूजा–आराधना गरिन्छ । पूजापाठ सकिएपछि लोसारमा बनाइएको परिकार चिया, खप्से, छ्याङगुल, छिमार डेसिल खाँदै लोसारको शुभकामना आदान–प्रदान गरिन्छ । विशेष गरेर यो दिन आ–आफ्ना गुरुकोमा गएर आशिर्वाद ग्रहण गर्दै आफ्नो घर परिवारभित्र रमाइलो गरी बिताइन्छ ।

लोसारको दोस्रो दिन

लोसारको दोस्रो दिन यस वर्षको २० गतेदेखि आ–आफ्ना आमाबुबा, मान्यजन, दाजुभाइ दिदीबहिनी, इष्टमित्र, छरछिमेकसँग रमाइलो वातावरणमा लोसार मनाउने, भोजभतेरमा सहभागी हुने क्रमको सुरुवात हुन्छ । यो क्रम लोसारको दिनदेखि १५ दिनसम्म चलिरहन्छ । लोसारको तेस्रो दिन छेवा सुम यो वर्ष फागुनको २१ गते गाउँ बस्तीमा सबैजना जम्मा भएर नजिकैको गुम्बा अथवा पवित्र स्थानमा गई ‘यो वर्षको बालीनाली राम्रो होस्, झै–झगडा नहोस् प्राकृतिक विपत्ति नआओस्’ भनेर प्रार्थना गर्ने चलन छ ।

खासगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने शेर्पाहरू शेर्पा केन्द्रमा भेला भई पूजामा सहभागी हुन्छन् । यसका लागि करिब २/३ महिना अगाडिदेखि एक समूह बनाई ल्हप्सो पूजाको तयारी गरिन्छ । यस्तो समूह ल्हप्सो पूजा सकेकै दिन अर्को सालका लागि गठन गरिन्छ, जसलाई ल्हप्सो आयोजक समिति भनिन्छ ।

जुन समितिले निमन्त्रणा कार्ड छापी शेर्पाहरूको घरघरमा लोसारको शुभकामना अर्थात् निमन्त्रणा वितरण गर्दै आ–आफ्नो गच्छेअनुसार ल्हप्सो पूजा सम्पन्न गर्न आर्थिक सहयोग संकलन गर्छन् । यसरी संकलित रकमले ल्हप्सो पूजामा आउने सबैको लागि चिया, डेसिल, खप्से, पेय पदार्थ आदिको व्यवस्था गरिन्छ । ल्हप्सो पूजामा आउने सबै शेर्पा प्रायः आफ्नै मौलिक पोशाकमा सजिएर आउने गर्छन् । साथै, सोही दिन नै हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अगुवाइमा विगत दुई दशकदेखि शेर्पा केन्द्रबाट बृहत् लोसार र्‍यालीको आयोजना गर्दै आएको छ । तर, यो वर्ष भने कोरोनाका कारण कुनै कार्यक्रम नहुने हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पाले जानकारी दिनुभयो ।

दशौँ दिन यस वर्ष फागुन २८ गते दिन गुरु रिन्पोछेको तिथिमा दानपुण्य गर्ने र पन्ध्रौँ दिनमा यो वर्षको फागुन ३ गते भगवात बुद्धले रिद्धि–शक्ति प्राप्ति गरेको दिन रहेकाले हर्षोल्लासपूर्वक लोसार मनाउने परम्परा रहेको छ ।