Breaking

रारा जस्तै सल्यानको कुपिण्डे ताल,‘पर्यटक आउने दिन कुरी बसेको छ’


काठमाडौँ – पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरुमा कोरोना महामारीका कारण मानिसहरुको आवातजावत बन्द भएपछि स्थानीय पर्यटन व्यवसायीहरुको जीवनयापन नै संकटमा छ । सल्यानका पर्यटकिय क्षेत्रलाई दैनिक गुजाराको माध्यम बनाउहरु अहिले मारमा परेका छन् ।

क्षणमै पारिलो घाम र केहीबेरमै बादलको घुम्टोमा लपक्क हुन्छ सल्यानमा । मनसुन सुरु भएसंगै यहाँका ताल–तलैया र मठमन्दिर झनै मनमोहक बनेका छन् । तर अन्य ठाउँको जस्तै कोरोना त्रास र प्रभावले यहाँका धेरै क्षेत्र थिलथिलो परेका छन् ।

रारा जस्तै आकार र प्रकार भएकाले सल्यानको यो ताललाई कतिपयले मिनि रारा भनेर चिन्छन् । तर बर्षमा चार वटा रङग बदल्ने यो कुपिण्डे तालको आफ्नै महत्व छ ।वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जंगल र बीचमा नीलो आकाशझै लमतन्न फैलिएको कुपिण्डे तालमा डुंगा सयर, पुजाआजा र पिकनिक गर्नेहरुले छुट्टै रौनक भर्छन । यहाँ गतवर्ष सबैभन्दा धेरै पर्यटक अवलोकनका लागि पुगेका थिए । तर योबर्ष कोरोना महामारीको असरलेसबै क्षेत्र ठप्प बन्दा डुङगा व्यवसायीहरु, पुजारी र स्थानीय व्यापारीहरुले मार खेप्नु परेको छ ।

कुनैबेला दैनिक पाँच सय पर्यटक बोकेर पानीमाथि तैरीने डुंगाहरु अहिले पानी मुनि छोपिएका छन् । धार्मिक पर्यटनका हिसाबले निकै अर्थ बोकेको अर्काे क्षेत्र छत्रेश्वरी शक्तिपीठ पनि अहिले सुनसान छ । वि.स. १९९० को दशकतिर शिव पार्वतीको मन्दिरका रुपमा स्थापित एवम्२०३७ सालमा नागबाबाद्वारा जीर्णाेद्वार गरिएको थियो ।श्रीस्वस्थानी व्रत कथामा समावेश भए अनुसार सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा अन्तिम अंग पतन भएको उल्लेख छ ।नेपालका शक्तिपीठ मध्य बली नचढाईने यहाँ दैनिक विवाह, पुजाआजा र दर्शनार्थीको भीड लाग्ने गर्दथ्यो । तर अहिले यो क्षेत्र पनि उस्तै भीडभाडको पर्खाइमा छ ।

ऐतिहासिक र धार्मिक पर्यटनको हिसाबले खैराबाङ भुवनेश्वरीको मन्दिर अर्काे आकर्षणको केन्द्र हो । मनोकांक्षा पुरा गर्न दैनिक भक्तजनको भीडभाड भइरहेने यो क्षेत्रलाई कोरोना महामारीले उत्तिकै सताएको छ ।

स्थानीयस्तरको उत्पादन र मौलिकताका हिसावले समेत यहाँ बलियो सम्भावना छ ।यहाँको स्थानीय उत्पादन टिमुर, सुन्तला र रेशाविहिन अदुवाकोबजार विस्तार गरिएको छैन । सल्यानी खुकरी पहिचान गुम्ने अवस्थामा छ ।मौलिकतामा पर्यटकलाई लोभ्याउन पहलकदमी आवश्यक देखिन्छ ।

तालतलैया र मठमन्दिर जस्ता पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण तर प्रयोग र प्रचारको हिसाबले ओझेलमा परेका यी क्षेत्रहरुको संरक्षण र प्रर्वद्धनका लागि यहाँका सांसद र सरोकारवालाहरुले बर्सेनि करोडौं रुपैयाँ विनियोजन गर्ने गरेका छन् । तर त्यसको महसुस हुने गरि प्रयोग भएको छैन । कोरोना महामारीपछि त यी धेरै क्षेत्रहरु आफ्नै धरातलको खोजिमा छन् ।