ओली पक्ष भन्छ, चुनाव हुन्छ हुन्छ : दाहाल–नेपाल भन्छन्, हेरौँला !
योहो संवाददाता
- today2021-02-23 08:50:35
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको बहस संवैधानिक इजलासमा केही दिनअघि मात्र सकिएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदमलाई सदर गर्ला वा प्रतिनिधिसभा पुनःस्थापना गर्ला, चासोको विषय बनेको छ । संसद् विघटनले मान्यता पाए मुलुक चुनावी माहोलमा होमिनु पर्नेछ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको दाबी गरिरहेका छन् । पोखरेलले अहिले जसले जे भने पनि समय सर्वोच्च अदालतको आदेशपछि सबै निर्वाचनमा सहभागी हुने दाबी गर्छन् ।
कांग्रेसका नेता प्रकाशशरण महत पनि आफूहरू चुनावका लागि तयार रहेको बताउँछन् । प्रतिनिधिसभा पुनःस्थापना नै भए पनि ढिलो चाँडो जनतामै जानुपर्ने उनको भनाइ छ ।
फुटेर सडकमा आइपुगेको दाहाल—नेपाल पक्षको नेकपा चुनावको सम्भावना नै नरहेको बताइरहेको छ । नेता रघुजी पन्त संसद् पुनःस्थापना हुनेमा ढुक्क रहेका छन् ।
पुस ५ गते प्रतिनिधिसभा भंग गरी प्रधानमन्त्री ओलीले चुनाव घोषणा गरेका थिए । अदालतमा विचाराधीन रहँदै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले पर्याप्त तयारी नगरेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।
मुलुक चुनावमा जाला वा प्रतिनिधिसभा पुनस्स्थापना होला भन्ने विषय केही दिनपछिको सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाले निर्धारण गर्नेछ ।