अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितले औपचारिकता पायो
योहो संवाददाता
- today2021-01-07 15:08:44
काठमाडौँ - अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले अन्तिम औपचारिकताको मार्ग पूरा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमणका कारण केही घण्टा रोकिएको इलेक्टोलर कलेज मतलाई औपचारिकता प्रदान गर्ने संसदको संयुक्त शत्रमा बाइडेनको जितले अन्तिम औपचारिकता पूरा गरेको हो । एरिजोना तथा पेनसिलभेनियाको इलेक्टोरल मत अवरोध गर्नका लागि रिपब्लिकन सिनेटर तथा तल्लो सदनका सदस्यहरुले गरेको प्रयास बहुमतले अस्वीकार गरेको थियो । सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको हो ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका हुन् । यस्तै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले पनि औपचारिकता पाएको छ । सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित भएको हो । यसअघि राज्यका सदनले मत प्रमाणिकरण गरेका थिए । त्यसपछि इलेक्टोरल कलेजले त्यसलाई प्रमाणिकरण गरि सदनमा पठाएको हो । ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै हार स्वीकार गरेका छैनन् । उनले नतिजा उल्ट्याउनका लागि गरेका कानूनी तथा ‘हिंसात्मक’ प्रयास विफल भएका छन् ।।