राजनीति

राजनीतिमा हुण्डरी ल्याउने दीपक मनाङ्गे : मै हुँ भन्ने नेताहरुलाई पाखा लगाए, अब के गर्छन् मनाङ्गे ?


काठमाडौँ – केही वर्ष अघिसम्म गुण्डागर्दीको चरित्रबाट चिनिएका दीपक मनाङ्गे अर्थात राजीव गुरुङ अहिले राजनीतिमा सक्रिय छन् ।
जनताबाट चुनिएर गण्डकी प्रदेशको राजानीतिमा होमिएकामनाङ्गे सत्ता ढाल्ने र नयाँ सरकार गठन गर्नेमा निर्णायक सांसद बनेर उभिए पछी राजनीतिक वृत्तमा उनी चर्चाको केन्द्रमा छन् ।
वास्तविक नाम राजीव गुरुङ भएपनि दीपक मनाङ्गेको नामबाट उनको पहिचान बन्यो । दीपक मनाङ्गेको पहिचानप्रति आम जनताको नकरात्मक चिनारी छ । उनी गुण्डागर्दी छवीका व्यक्ति हुन् भन्ने धारणा छ । तर जब गएको निर्वाचनमा उनी गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङबाट निर्वाचित भए । त्यसपछि उनको छवी दीपक मनाङ्गेबाट राजीव गुरुङ हुने अपेक्षा गरिएको थियो ।

नभन्दै उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री समेत बनाएर मन्त्रिपरिषद्मा भित्र्याए । विना हिच्किचाई प्रष्ट धारणा राख्ने निर्भिक मनाङ्गेले गरेको सामाजिक कामलाई धेरैले रुचाए । वर्तमान राजनीतिक फोहोरी दलदलमा भासिएका नेताहरु भन्दा मनांगे सफा छन् भन्ने धेरैको धारणा बन्यो । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया वा टिप्पणी हेर्दा उनीप्रति जनताको हेर्ने नजर सुधारिएको दीपक मनांगे अर्थात राजीव गुरुङको छवी छ । अर्थात उनी रत्नाकर जस्ता डाँकु पछी बालमीकि भए भने जस्तै दीपक मनांगे पछी राजीव गुरुङ भएको चर्चा सुरु भयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि यस्तै विश्लेषण गरेका रहेछन् । प्रदेश सरकार ढल्ने संकटमा मनांगेलले आफूलाई साथ दिने विश्वास गरेका रहेछन् । तर मनांगेले गुरुङको साथ छोड्दै विपक्षीलाई साथ दिएपछि गुरुङले अहिले मनांगेलाई आरोपित गर्दै सवै रत्नाकर वाल्मीकि हुँदारहेनछन् भन्ने निष्कर्ष निकालेका छन् ।

तर गुरुङले दीपक मनांगेलाई रत्नाकर नै सम्झेपनि विपक्षी गठवन्धनले भने उनलाई बालमीकि देख्न थालिसकेका छन् । गण्डकी प्रदेशका साँसदहरुमाझ आइडल झैँ देखिएका मनांगे नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको क्याम्पमा पहिलो लटमै मन्त्री भइसकेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत मनांगेमा बालमीकिको छवी देखिसकेका छन् । त्यसो त दीपक मनांगेको व्याख्या विश्लेषण नेताहरु सत्ता स्वार्थका आधारमा गरिरहेका छन् भन्ने बुझ्न कठिन छैन ।

तर नयाँ सरकार गठन गर्न र पीएस गुरुङको सरकार ढाल्न खम्बा नै बनेका मनांगेको चर्चा अहिले देशभर छ । आफूलाई राजनीतिको मसिहा नै ठान्ने पुराना, खारिएका भनिने कतिपय नेताहरुका अगाडी मनांगे चम्कीएका छन् ।मनाङ्गेको विगत जेजस्तो भएपनि जनप्रतिनिधिको रुपमा प्रदेशसभामा प्रवेश गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र मनाङको विकास र रुपान्तरणमा इमान्दारीतापूर्व सक्रिय रहेको देखिन्छ । निर्वाचन क्षेत्रमा मात्रै नभई प्रदेशको राजनीतिमा समेत असाधारण राजनीतिक खेल खेलेर सत्ता उल्टाएका मनांगे विस्तारै केन्द्रीय राजनीतिमा उदाउने कतिपयको ठम्याइ छ ।

जनताले चुनेर पठाएको संसद समय अगावै विघटन गर्नु जनमतको अपमान भएको र संसद जोगाउन आफूले ओली क्याम्प परिवर्तन गरेको भन्ने अभिव्यक्तिबाट मनांगेले धेरैको मन जितेका छन् । शक्ति र पदको दुरुपयोग नगरी इमान्दारीपूर्वक राजनीतिमा सक्रिय रहे फोहोरी खेलको राजनीतिमा चुर्लुम्म डुबेका नेताहरु भन्दा मनाङ्गे भिन्न र लोकप्रिय बन्ने निश्चीत छ ।