Breaking

योग जाने ‘योग’ नजाने ‘वियोग’, योग गर्दा ध्यान दिनु पर्ने कुराहरु


काठमाडौँ – अहिलेको व्यस्त जीवनशैलीबाट हरेक कोही शारीरिक थकान हुनसक्छ । शारीरिक तनावदेखि मन शान्ति वा सकारात्मक सोचका लागि योग अत्यावश्य छ । तर, योग गर्दा पनि हामीले धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ । यसलाई जानेर गरे योग र नजानी गरे यो वियोग पनि हुन सक्छ । त्यसैले योग गर्दा सबैले धेरै कुरामा ध्यान दिनु पर्छ ।

शारीरिक स्थिति र मानसिक अवस्था
कुनै पनि यौगिक सूक्ष्म व्यायामहरू तथा आसनहरूको अभ्यास गर्ने क्रममा त्यसबाट शरीर र मनमा कस्तो क्रिया प्रतिक्रिया उत्पन्न भइरहेको छ भन्ने कुरामा सजग हुनुपर्छ। यदि कुनै कठिनाइ उत्पन्न भएमा विशेषज्ञको सल्लाह लिएर मात्र पुनः अभ्यास सुरु गर्नुपर्छ। आसनको अभ्यास गर्दा शरीरलाई कुन अवस्था, क्रम र स्थितिमा कतिबेर राखिराख्ने भन्ने कुरामा ख्याल राख्नुपर्छ। सुरुमा कुनै पनि आसनमा अभ्यस्त नहुन्जेलसम्म थोरै समयसम्म र थोरै पटक मात्र अभ्यास गर्नुपर्छ। क्रमशः सजिलो हुँदै गएपछि त्यसको अवधि र मात्रा बढाउन सकिन्छ।

श्वासप्रश्वास
योग गर्दा श्वासप्रश्वास मिलाएर अभ्यास गर्नुपर्छ। कुन अवस्थामा श्वास लिने र कुन अवस्थामा श्वास छोड्ने त्यसको जानकारी हुन अत्यन्त जरुरी छ। श्वासप्रश्वासको लयबद्धता मिलेन भने त्यसले हानि पनि गर्न सक्छ।

जस्तै : छाती र ढाडमा समस्या (झस्को पस्ने, घोच्ने, छाती/ढाड दुख्ने आदि)।

श्वासको तीव्र वा मन्द गति, आवाज निकालेर वा सूक्ष्म रूपले श्वास लिने/रोक्ने/छोडने नियमअनुसार श्वासको गति मिलाउनुपर्छ।

धैर्यता र प्रशन्नता
योगाभ्यासमा पूर्णता पाउन र खोजेको नतिजा प्राप्त गर्न समय, धैर्य र निरन्तर अभ्यासको आवश्यकता पर्छ। जस्तै छिटो सिक्नका लागि हतारिएर गर्ने र अधैर्य भई कठिन आसन गर्न एकै चोटि प्रयास गर्ने गर्नु हुँदैन। अभ्यास गरिरहेका अवस्थामै प्रसन्न चित्त भएर आनन्दमग्न भई धैर्यतापूर्वक अभ्यास गर्दा बढी फाइदा हुन्छ।

विपरीत एवम् पूरक अभ्यास
कतिपय आसनका अघि/पछि, दायाँ/बायाँ गर्नपर्ने विपरीत वा पूरक आसनहरू हुन्छन्। कुनै आसन गरेपछि उचित लाभ प्राप्त गर्न एवम् शरीरमा सन्तुलन कायम गर्नका लागि त्यसको विपरीत एवम् पूरक आसन गर्नु आवश्यक हुन्छ।

विश्रामको आवश्यकता
योगाभ्यास गर्दा शरीरमा ऊर्जा उत्पन्न हुन्छ। त्यो ऊर्जालाई क्षय हुन नदिन र थकानको महसुस हुन नदिन आसनहरूका बीचमा र अन्त्यमा विश्राम जरुरी छ। विश्रामात्मक आसनहरू उत्तानो परेर, घोप्टो सुतेर, बसेर र उठेर पनि गर्न सकिन्छ।

आत्मसुझाव
योगको प्रत्येक अभ्यासले प्रत्यक्ष र सूक्ष्म रूपमा फाइदा गरिरहेको हुन्छ। यो लाभलाई संवेदनशील भएर महसुस गर्ने क्षमता विकास गर्न जरुरी हुन्छ।

संवेदनशील स्थितिमा आत्मसुझावले प्रभावकारी नतिजा दिन्छ जसले योगाभ्यासबाट प्राप्त हल्कापन, आनन्द र स्फूर्तिको भावलाई अझ प्रगाढ बनाउँछ। यो अभ्यासले मलाई स्फूर्ति, आनन्द र स्वास्थ्य प्रदान गरिरहेको छ, शरीर र मनका रोगबाट मलाई मुक्ति दिलाउँदै छ र मभित्र नयाँ ऊर्जाको सञ्चार गराइरहेको छ’ भन्ने भाव गर्नुपर्छ। यसो गर्नाले यसबाट अझ बढी मानसिक आनन्द प्राप्त हुन्छ।

योगासनको अभ्यास गर्न मिल्ने र नमिल्ने अवस्था
आसनहरूको अभ्यास जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ। विश्रामात्मक, ध्यानात्मक, सहज र जटिल आसनहरू हुन्छन्। यी आसनहरूलाई जुनसुकै उमेर, रोगी निरोगी वा सामान्य असामान्य सबै अवस्थामा आफ्नो शरीरको क्षमता र आवश्यकता अनुकूल छनोट गरी अभ्यास गर्न सकिन्छ। अस्वस्थ अवस्था, कमजोरी, गर्भावस्था, प्रसूति अवस्था आदि बेलामा पनि आसनहरू गर्न सकिन्छ।

तर ती विशेष परिस्थितिमा गर्न मिल्ने विशेष आसनहरू विशेषज्ञको सल्लाह लिएर मात्र गर्नुपर्छ। ज्वरो, कमजोरी, रिँगटा, रुघाखोकीको तीब्र अवस्था, कुनै रोगको तीब्र सङ्क्रमण तीब्र खालका दुखाइरमर्काइरचोटपटक र आघात आदिमा पूर्ण विश्रामदायी आसनहरूको अभ्यास गर्नुपर्छ। अथवा योग चिकित्सक एवम् विशेषज्ञको सल्लाहमा आवश्यक पर्ने अन्य यौगिक उपायहरूसमेत अपनाउन सकिन्छ। सामान्य अवस्था बाहेकका अवस्थामा योगाभ्यास गर्दा योग चिकित्सक वा विशेषज्ञको सल्लाहमा मात्र गर्नुपर्छ।

योगाभ्यासपश्चातका नियम
योगको अभ्यासपछि तुरुन्त नुहाउने वा खाने गर्नु हुँदैन। करिब १५ मिनेटदेखि आधा घण्टापश्चात् खान वा नुहाउन सकिन्छ।

योगाभ्यासका फाइदाहरू
– योगले शरीरका अङ्ग प्रत्याङ्गलाई चलायमान, ऊर्जावान्, आवश्यकताअनुसार सक्रिय वा शान्त राख्छ र सकारात्मक प्रभाव पार्छ।

– योगको अभ्यासले हाडजोर्नी, नशा, नाडी, मांसपेशी, फोक्सो, मुटु, रक्तनली, पाचन तथा निष्कासन अङ्गहरू आदिलाई स्वस्थ र सबल बनाउँछ। योगको उचित अभ्यासले कम उमेरका व्यक्तिमा उचाइ बढाउन सघाउँछ। स्मरण क्षमता वृद्धिमा सहयोगी हुन्छ, शरीरलाई तन्दुरुस्त बनाउँछ र स्वस्थ रहन सहयोग गर्छ। नियमित योगाभ्यास गर्नाले नसर्ने रोगहरूको जोखिम कम हुन्छ।

– नसर्ने रोगहरू जस्तै स् मधुमेह, उच्चरक्तचाप, दम, मुटुरोग, हाडजोर्नी, नसासम्बन्धी, एलर्जिक राइनाइटिस, गलग्रन्थि रोग आदिको नियन्त्रणमा यो लाभदायक छ। योगले जीवनशैलीलाई व्यवस्थित बनाउँछ र खराब जीवनशैलीका कारण उत्पन्न समस्याको जोखिम न्यून गर्छ।

– योगले मनलाई शान्त, आनन्दित, उत्साहित र उर्जावान् बनाउँछ। यसले मानसिक समस्याहरू जस्तै स् तनाव र चिन्ताजन्य गडबडीहरू, डिप्रेसन, बेचैनी, नकारात्मक सोच, आलस्यतालगायत रिस, इष्यो, हीनताबोध, शङ्काबोध जस्ता नराम्रा भावहरूलाई घटाउँछ। यसले मानसिक सबलता वृद्धि गर्छ र मनको कमजोरी हटाउँछ। योगले व्यक्तिलाई अनुशासित बनाउँछ। धूम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थको सेवन र लागू औषधि सेवन जस्ता कुलतबाट बचाउन मदत गर्छ।

(शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय योग अभ्यासक्रमबाट)