Breaking

यादव समूहलाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिन आग्रह


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरित काम गर्दै हिँडेको भन्दै यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका हुन् ।

उक्त स्पष्टीकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गर्नुको कारण, विपक्षी कांग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न जानुको कारणलगायत विषयमा समेटिएको छ । पार्टीको विधानको दफा ४९ अनुसार अनुशासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको स्पष्टीकरणको जवाफ तीन दिनभित्र पार्टी कार्यलयमा पठाउन समेत अध्यक्ष ठाकुरले आग्रह गरेका छन् । जसपाभित्रको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम समर्थन गर्ने र विरोध गर्ने दुई धारबीच विवाद उत्कर्षमा पुगेको हो ।

नागरिकता विधेयक आएसँगै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सहभागी हुने तयारी गरिरहेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई समूह विपक्षी गठबन्धनको साथमा रहेको छ । जसपाको उपेन्द्र यादव समूहले पनि यसअघि महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो ।
संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार गठनका लागि अध्यक्ष महन्थ ठाकुर समूहले तटस्थ बसेर नै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सघाउ पुर्याएको थियो । यस्तै यो समूहले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका क्रममा ओलीलाई समर्थन गरेको थियो । त्यसलगत्तै जसपाभित्र एक समूहले अर्को समूहलाई कारबाहीको शृङ्खला सुरु भएको थियो ।