Breaking

यातायात व्यवसायीद्वारा काठमाडौँमा र्‍याली


काठमाडौँ – सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्वानमा यातायात व्यवसायीहरुले बिहीबार बिहानदेखि नै काठमाडौँमा र्‍याली निकालेका छन् । व्यवसायीहरुले भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै काठमाडौँमा र्‍याली निकालेका हुन् ।

व्यवसायीहरुले आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ । व्यवसायीहरुले निकालेको र्‍यालीले सडकमा सवारीसाधनको लामो लाइन लागेको छ । यसरी सर्वाजनिक सवारी साधन सडकमा लाईन लाग्दा सर्वसाधारणलाई ट्राफिक जामको समस्या परेको छ । ट्राफिक प्रहरीलाई पनि यातायता व्यवस्थामा समस्या परेको छ भने काठमाडौँको रिङरोडको अवस्था अलि अस्तव्यस्त देखिएको छ ।

सडकमा निस्किएका व्यवसायीहरुले यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, कोभिड खोपको व्यवस्था गर्न, २० वर्ष अवधि पुगेका सवारी साधनको अवधि थप गर्न, नवीकरण र जरिवाना छुट गर्न लगायतका माग राखेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका उपमहासचिव केशव नेपालले २०६९ सालपछि वैज्ञानिक भाडा समायोजन नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए । ‘कि २०६९ सालमा भाडा समायोजन गर्दा भएकै पेट्रोल–डिजेलको मूल्य कायम गर्नुपर्यो कि भने वैज्ञानिक भाडा समायोजन गर्नुपर्यो,’ उनले भने ।

संघ सरकारले अन्तर प्रदेशको यातायातको भाडा वृद्धि गरिसक्दा पनि प्रदेश भित्र र स्थानीय रुपमा चल्ने सार्वजनिक गाडीहरुको भाडा समायोजन नहुँदा सवारी चलाउनै नसक्ने अवस्था आएको उनले बताए ।