Breaking

मतपेटिका लुट्ने प्रयासपछि गोली चल्यो, एक जनाको मृत्यु


काठमाडौँ — उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय १८ वर्षिय विरबहादुर कटुवाल रहेका छन् । उनको छातिमा गोली लागेको छ । प्रहरीले चलाएको गोली लागेर अर्का स्थानीय १३ वर्षीय मोहन श्रेष्ठ घाईते भएका छन्। उनको खुट्टामा गोली लागेको छ । बाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन्। उनको टाउकोमा चोट लागेको छ ।

घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ । प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गोली चलेको बताएपनि घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भईनसकेको बताए । मृतक कटुवाल नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन् । विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन् । उनले कांग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको बताए ।

प्रजिअ यादवले मदतान प्रकृया ५स्२० मा सकिसकेपछि दलका कार्यकर्ताबीच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए । उनले भने, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामासमेत हस्ताक्षर गर्दैगर्दा अकास्मात वाहिरबाट ढुगांमुढा हान्न थालेपछि प्रहरीले जवाफी फाईरिङ्ग गरेको हो ।’ शिलबन्दी गर्नेक्रममा ५०/६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछिस्थिति तनावग्रस्त भएको प्रजिअ यादवले बताए ।

उनले भने, ‘स्थितीलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको हो ।’ कालिका मावि सोरूङ छविसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए ।