Breaking

भोलीदेखि निषेधाज्ञामा थप कडाई, खाद्यपदार्थको जोहो गर्न आग्रह


काठमाडौँ – काठमाडौँ उपत्यकामा भोलिबाट किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको जेठ ११ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ । कम्तिमा पनि एकसाता अलि कडा निषेधाज्ञा गनुपर्ने आवश्यकता देखिएकाले आफुहरुले यस्तो निर्णय लिएको भन्दै काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले सर्वसाधारणहरुलाई कम्तिमा पनि एक साताका लागि आवश्यक खाद्यपदार्थको जोहो गर्न आग्रह गरेकाछन् ।

थपिएको निषेधाज्ञामा झनै कडा प्रावधान लागू गरिएको हो । बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । यसका साथै, सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकको सवारीसाधन सञ्चालनमा पनि कडाइ गरिएको छ ।

निषेधाज्ञाको पालना नगर्नेलाई कारबाही गरिनेछ । निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, बिना काम बाहिर निस्किए पटकै पिच्छे २ सय रुपैयाँ, अत्यावश्यक बाहेकका सवारी साधन चलाएमा दुई पांग्रे सवारी साधन भए पटकैपिच्छे २ हजार रुपैयाँ, अन्य सवारी साधन भए पटकैपिच्छे ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।