देश

बलात्कार तथा अन्य यौन हिंसाका घटनामा हदम्याद तत्काल हटाउन माग


काठमाडौँ — एम्नेस्टी इन्टरनेसनलले बलात्कार तथा अन्य यौन हिंसाका घटनाका पीडितले न्यायमा पहुँच प्राप्त गर्नका लागि बाधकको रूपमा रहेको विद्यमान प्रतिबन्धात्मक हदम्यादको व्यवस्थालाई तत्काल हटाउनु पर्ने बताएको छ । एम्नेस्टी इन्टरनेसनलले नेपालको बलात्कारसम्बन्धी कानुनलाई सुधार गर्न तथा यौन हिंसाका पीडितहरूलाई छिटो न्याय प्रदान गर्ने व्यवस्थाको माग गर्दै जारी विरोध प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता जाहेर गरेको छ । उसले नेपालको मुलुकी अपराध संहिता, २०७४ मा अपराध भएको मितिबाट एक वर्षभित्र बलात्कारको उजुरी दर्ता गरिसक्नुपर्ने व्यवस्था अत्यन्तै प्रतिबन्धात्मक रहेको पनि जनाएको छ ।

आठ वर्षअघि आफू १६ वर्षको हुँदा बलात्कार गरिएको आरोप सहित जेठ ४ गते एकजना पीडितले आफूमाथि भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि नेपालका अभियन्ताहरूले सडकमा विरोध प्रदर्शन सुरू गरेका छन् । विरोध प्रदर्शनको दबाब र बलात्कारका घटनामा उजुरीको विद्यमान एक वर्षे हदम्यादका कारण प्रहरीले आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत जेठ ७ गते पक्राउ गरेको छ ।