Breaking

पौडेल पक्षको निष्कर्ष : काँग्रेसको महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिन्छ

१३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सुझाव


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो ।

तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको बैैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताउनु भयो । उहाँले त्यसका लागि पार्टी नेतृत्वले इमान्दार प्रयास गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यता सम्बन्धि विवाद थाती राखेर १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ ।