समाचार

नेबिको प्रालिमा ५० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान



काठमाडौँ – शनिबार बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालिमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट ५० करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहान २ बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको प्रयासपछि नियन्त्रणमा आएको थियो । नेपालकै पहिलो बिस्कुट कम्पनीका रुपमा सञ्चालित बालाजुको नेबिको प्रालिमा आगलागी हुँदा उत्पादित सामग्री जलेर नष्ट भएको थियो ।

बालाजु औद्योगिक क्षेत्रकै दोस्रो ठूलो उद्योग मानिने नेविको विष्कुट कारखानामा आगलागी भएपछि बीमाका कुरा उठेको छ । नेविको प्रा.ली.ले विष्कुट कारखानाको बीमा सानिमा जनरल इन्स्योरेन्समा गरेको छ । उद्योगमा आगलागी भएपछि अब सानिमा जनरल इन्स्योरेन्सले बीमा वापतको रकम भूक्तानी गर्नुपर्ने भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सका अनुसार कारखानाको २६ करोड रुपैयाँ बीमाङ्क बराबरको बीमा गरिएको थियो । के कति क्षति भएको छ भन्नेबारे यकिन तथ्यांक संकलनका लागि इन्स्योरेन्सले आफ्ना सर्भेयर पनि खटाईसकेको जनाएको छ । तर, कारखानाका आन्तरिक र बीमा कम्पनीका सर्भेयरहरुले सर्भे गरिरहेकाले सर्भे सकिएपछि मात्रै क्षतिको वास्तविकता थाहा हुने छ ।