Breaking

जसपा विवादबारे निर्वाचन आयोगमा बहस


काठमाडौँ – निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत–अल्पमत हेरेर निर्णय गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाका दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको बताइएको छ । जसपामा केन्द्रीय कार्यकारिणी समितिलाई लिएर विवाद रहेको छ । दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अलग–अलग समिति दाबी गरिरहेका छन् । जसपा दर्ताका बेला ५१ सदस्यीय कार्यकारिणी समिति आयोगको अभिलेखमा रहेको छ । यादव पक्षले त्यसैलाई मान्यता दिनुपर्ने माग गरेको छ । ठाकुर पक्षले भने पुस ७ को कार्यकारिणी समितिको बैठकले दिएको अधिकारअनुसार कार्यकारिणी समितिमा गरेको हेरफेरले मान्यता पाउनुपर्ने बताएको छ ।