Breaking

जनप्रतिनिधिलाई काँग्रेसको प्रशिक्षण–तपाईंहरुको कामले संघीय निर्वाचन प्रभावित हुन्छ


काठमाडौँ — नेपाली काँग्रेसबाट पालिका तहमा चुनिएका स्थानीय जनप्रतिनिधिहरुले अभिमुखीकरण कार्यक्रमले स्थानीय तहका समस्या समाधान गरी जनमुखी काम गर्न उत्प्रेरित गरेको बताएका छन् । स्थानीय तहमा योजना तर्जुमा र प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे पनि पार्टीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको हो । नेपाली काँग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिनसम्म प्रशिक्षण दियो । प्रशिक्षणमा सहभागी नेताहरुले कार्यक्रमले स्थानीय सरकारलाई थप सशक्त र जनमुखीकरण कसरी बनाएर लैजाने भन्ने बारे जानकारी प्राप्त भएको बताएका छन् ।

उनीहरुले स्थानीय जनप्रतिनिधिहरुले गर्नुपर्ने काम, कर्तव्य, अधिकारका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको बताए । नुवाकोटको म्यागङ गाउँपालिकाकी उपाध्यक्ष सीता तामाङले नयाँ जनप्रतिनिधिलाईस्थानीय तहका योजना तर्जुमा र प्राकृतिक श्रोतलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे प्रशिक्षण दिएको बताइन् ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले प्रशिक्षणमा स्थानीय तहलाई सुशासन, पारदर्शिता र जवाफदेहीता, गतिशीलतामा कसरी चलाउन सकिन्छ ? भन्ने बारेमा जानकारी गराइएको बताए । उनले चुनौतीहरुलाई सहज रुपमा कसरी अघि बढाउने भन्नेबारे क्षमता अभिवृद्धि गर्ने काम भएकोले कार्यक्रम समय सान्दर्भिक र फलदायी रहेको बताए ।

त्यस्तै नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीबाट स्थानीय तहमा जितेका जनप्रतिनिधिहरुको काम, कर्तव्य, दायित्वको बारेमा प्रशिक्षण दिने काम समय सान्दर्भिक रहेको प्रतिक्रिया दिए । उनले यो प्रशिक्षणले मेयर, उपमेयर र वडा अध्यक्ष, उपाध्यक्षको लागि जनमुखी काम गर्न प्रेरित गर्ने बताए ।

त्यस्तै पार्टी महामन्त्री गगनकुमार थापाले स्थानीय जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै स्थानीय तहमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुकै आधारमा रहेर पार्टी आगामी संघ र प्रदेशको निर्वाचनमा प्रतिष्पर्धा गर्न लागेको बताए । उनले केही दलका नेताहरुले वि.सं २०७४ सालको निर्वाचनतिर फर्काउन लागेको आरोप लगाए ।

उनले आफूबिरुद्ध रहेका नेताहरुलाई गत वैशाख ३० गतेको स्थानीय तहमा नेपाली काँग्रेसले पाएको मतलाई बुझ्न आवश्यक रहेको बताए । महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले गठबन्धनमा पनि शीर्ष स्थान बनाइसकेको भन्दै आफ्नौ हैसियत अनुसार सिट प्राप्त गर्ने बताए । उनले वर्तमान पार्टीको राजनीतिक हैसियतका आधारमा सिट बाँडफाँट हुने बताए ।

महामन्त्री थापाले जिम्मेवारीमा बस्दा कहिले काहीँ महत्वपूर्ण कामहरु पनि बिर्सिने गरेको भन्दै चुनावमा जित्ने ठाउँसम्म प्रष्ट हुने नभइ जितेपछि के गर्ने भन्ने बारेमा पनि एजेण्डा बनाएर अघि बढ्न प्रतिनिधिलाई निर्देशन दिए ।