Breaking

खेलकुद क्षेत्र यस वर्ष पनि अपहेलित, गत वर्ष भन्दा २८ करोडले बजेट कम


काठमाडौँ — सरकारले प्रस्तुत गरेको बजेटमा यस वर्ष पनि खेल क्षेत्रलाई महत्वका साथ हेरेको देखिएन । गत वर्षको भन्दा २८ करोड घटाएर खेल क्षेत्रलाई बजेट विनियोजन गरियो । यसले खेल क्षेत्रको भविष्य झन् संकटमा पर्ने देखिन्छ । सरकारले आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रमा बजेट घटाएको छ ।

चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा यस वर्ष भने २८ करोड रुपैयाँ कटाएको छ ।नयाँ आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।

नेपाललाई धेरै सफलता दिलाएको क्रिकेटमा भने सरकार केही उदार देखिएको छ । समग्र खेलकुद क्षेत्रमा बजेट घटाउँदा काठमाडौंको मूलपानीमा निर्माधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान र धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि भने सरकारले चासो देखाएको हो । मूलपानी मैदान आगामी वर्ष निर्माण सम्पन्न गरिने जनाएको छ भने त्रिवि मैदानमा फ्लड लाईट राख्ने जनाएको छ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय मैदानमा पनि बजेट विनियोजन गरेको छ ।

एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको छ । खेलकुदको २० वर्षे गुरुयोजना निर्माण गरिने भएको छ । नवौ राष्ट्रिय खेलकुद आयोजनका लागि आवश्यक बजेट विनियोजन गरेको छ । भने त्यस्तै दशौं खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि बजेट छुट्याइएको अर्थमन्त्री शर्माले जनाएका छन् ।

खेलकुद विवाद अदालत प्रवेश गरेसँगै यस वर्ष खेलकुदको बजेट खासै सदुपयोग हुन सकेको छैन । सोही कारण सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदको बजेट घटाएकोे हो । समग्र खेलकुद क्षेत्रको बजेटलाई हेर्दा सरकारले यसपटक पनि खेलकुदलाई खासै महत्वको साथ हेरेको पाइएन । निरन्तर वर्षैपिच्छे खेलकुद क्षेत्रमा सरकारले बटेज घटाउँदै आएको छ । देशलाई एक सूत्रमा बाध्ने क्षेत्रलाई अपहेलित गर्दा यो क्षेत्र झन् संकटमा जाने निश्चित छ ।