Breaking

कोभिसिल्ड लगाएकालाई साउन २५ देखि एस्ट्राजेनेका खोप


काठमाडौँ– कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई साउन २५ गतेदेखि एस्ट्राजेनेका खोप दिने भएको छ। एस्ट्राजेनेका खोप कार्यक्रम साउन २५ र २६ सम्म चल्ने स्वास्थ्य कार्यलय काठमाडौँले जनाएको छ ।

कार्यालयका अनुसार खोप ६५ बर्षभन्दा माथिका नागरिक र कोभिसिल्ड खोप पहिलो मात्रा लगाएकाले मात्रै लगाउन पाउने छन्।
खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य रूपमा लिनु पर्ने छ। त्यसका साथै विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर चाहिने कार्यालयले जनाएको छ।

जापान सरकारले शनिबार बिहान ५ लाख १३ हजार डोज खोप नेपाललाई सहयोग गरेको छ । जापान सरकारले यसअघि नै १६ लाख डोज सहयोग गर्ने घोषणा गरिसकेको छ। बाँकी खोप पनि बिस्तारै नेपाल आइपुगने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै शुक्रबार भुटान सरकारले तीन लाख डोज एस्ट्राजेनका खोप नेपाललाई उपलब्ध गराएको थियो।

त्यसैगरी एस्ट्राजेनका खोप काठमाडौँ महानगरपालिका, चन्द्रागिरी, नागार्जुन, तारेश्वर, दक्षिणकाली, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर, कागेश्वर नगरपालिका, राधस्वामी आइसोलेसन सेन्टर, शसस्त्र प्रहरी बल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल लगायतका अस्पतालबाट खोप लगाउन सकिने छ।