Breaking

केटु हिमालको शिखरमा १० पटक ‘पुसअप’गर्ने साहासी छिरिङ नाम्गेल, कीर्तिमानीको तयारीमा


काठमाडौँ – हिमाल र शेर्पा पर्यायवची शब्द जस्तै बनेको छ । हिमाल बिना शेर्पा अधुरो छ भने, शेर्पा बिना हिमाल पनि अधुरो र असफल जस्तो देखिन्छ । यही हिमाल आरोहण गरेर विभिन्न व्यक्तिले विभिन्न मितिमा कीर्तिमानी कायम गरेका छन् ।

आजसम्म हिमाल आरोहण गर्ने ब्यक्तिहरुले जति पनि कीर्तिमानी कायम गर्दै गए यी सबै हिमाल आरोहण र आफ्नो कर्तव्य पुरा गर्दै जाँदा प्राप्त भएको कीर्तिमानी र सफलता रहेको उनीहरु बताउँछन् ।

आरोही शेर्पाहरुले हिमाल आरोहणको क्रममा कीर्तिमानी र पैसाको कुरै छाडौँ, आफ्नो ज्यानको बाजी लगाएर उनीहरुले आफूसँग रहेको विदेशी पाहुँनालाई हिमालको चुचुरोमा पु¥याउने हिम्मत जुटाउने कार्य गर्दछन् । नेपालका शेर्पाहरू हिमाल चढ्न खप्पिस मानिनुका साथै विदेशी पर्वतारोहण टोलीको सफलताका लागि महत्वपूर्ण मानिन्छन् ।

हिमाल आरोहण भन्नेबित्तिकै युद्ध मैदान सम्झे हुन्छ । युद्धमा जाने सैनिकलाई कुन बेला आफू अरूको शिकारमा परिन्छ भने यकिन हुदैन । त्यस्तै हिमाल आरोहण गर्ने शेर्पालाई पनि आफू कुन बेला हिमपहिरो, ख्रमपासमा परिन्छ थाहा हुँदैन । र कुन बेला मौसमले साथ दिन छाड्ने मात्रै होइन, आफ्नै स्वास्थ्यले कुनबेला श्वासप्रश्वास प्रक्रिया रोक्ने हो पत्तो समेत हुँदैन ।

त्यसैले शेर्पाहरु भन्ने गर्छन् हिमाल आरोहण गर्नु भनेको मृत्युलाई हत्केलामा राखेर हिड्नु हो । यस्तै आफ्नो जीवन हत्केलामा राखेर देशको नाम उच्च राख्नका निमित्त पाकिस्तानमा रहेको केटु हिमाल आरोहणमा निस्केका खुम्बु पासाङल्हामु गाउँपालिका– ४ का छिरिङ नाम्गेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो ठूलो हिमश्रृङखला ८ हजार ६ सय ११ मिटरको उचाइमा रहेको केटु आरोहणको क्रममा अरुले भन्दा केही भिन्न र फरक गरेका छन् ।

उनले केटु हिमालको शिखरमा पुगेर १० पटक ‘पुसअप’गरेका छन् । झट्ट सुन्दा यो कुरा खासै नौलो नलाग्न पनि सक्छ । तर एकछिन रोकेर आफूलाई त्यो स्थानमा पुर्‍याउने हो भने साच्चै अनौठो लाग्छ । छिरिङ नाम्गेल शेर्पा २०२१ जुलाई २७ तारिक बिहान केटु हिमालको चौथौं क्याम्पबाट आरोहण निस्किन्छन् । लगातार ७घण्टा ४५ मिनेटको कष्टकर यात्रापछि उनीहरु हिमालको शिखरमा पुग्छन र आफ्नो खुसीलाई एकअर्काप्रति सटासट गर्छन्।

यतिकैमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका छिरिङ नाम्गेल शेर्पाले आफ्नो साथीसँग कुराकानी गर्दै केटु हिमालको शिखरमै रहेर दसपटक ‘पुसअप’गरेको भिडियो अहिले समाजिक सञ्जालमा निकै भाईरल भएको छ । सामान्य अवस्थामा ‘पुसअप’ खासै ठूलो महत्वको रुपमा लिइँदैन तर विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो ठूलो हिमश्रृङखला ८ हजार ६ सय ११ मिटरको उचाइमा रहेको केटुहिमालको शिखरमा यस्तो कार्य गर्नु चानचुने कुरा होइन ।

अहिले शेर्पाले गरेको कार्यको गिनिज बुक वल्र्ड रेकर्डमा उसको नाम राख्ने तयारी रहेको शेर्पा जानकारी दिनुभयो । उहाँले योहोखबरसँग कुरा गर्दै भन्नुभयो–‘मैले हिमालको शिखरमा ‘पुसअप’ गरेर नाम नै राख्छु भनेरत्यस्तो गरेको होइन । तर पछि भिडियो सबै माझ पुगेपछि कीर्तिमानी बनाउन अरुले पनि सुझाव दिनु भयो । र त्यसकै लागि अहिले तयारी गर्दैछु ।’

विश्वको सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो ठूलो हिमश्रृङखला केटु हिमालको गत माघ ५ गते १० जना नेपाली टोलीले सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका थिए ।यसअघि विभिन्न देशका आरोहीहरुले पटक–पटक केटु आरोहण गर्न खोजेपनि सफल हुने सकेका थिएनन् ।
संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ ।

केटु हिमाल आरोहण गर्दा एउटा निकै कठिन स्थान छ । एउटा साँघुरो स्थान भएर पर्वतारोही जानु पर्छ । जसले निकै मूस्किल स्थानका रुपमा आरोहीहरुले लिएका छन् । जहाँ सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको थियो । नाम्गेल भन्छन्, ‘हामी नेपालीहरुले दशकौँसम्म विदेशीहरूलाई शिखरमा पुर्‍याउन सहयोग गर्‍यौं । तर पाउनुपर्ने पहिचानअहिलेसम्म पाएको छैन् ।’

उनका अनुसार शेर्पा समुदाय हिमालकै काखमा हुर्किएकाले हिमाललाई ईश्वर नै मानेर सम्मान गर्छन् ।‘हामी हिमाललाई भगवान् नै मान्छौँ, हामी हिमाललाई आफ्नी आमाजत्तिकै सम्मान र माया गछौँ,’ उनले भने । तर, सरकारले आरोहीहरुलाई सुरक्षित रुपमा हिमालका शिखरसम्म पुर्‍याउने शेर्पाहरुको समस्यालाई ध्यान नदिएकोमा भने उनी निराश छन् । ‘हामी नजरअन्दाज भएजस्तो महशुस गरिरहेका छौँ,’ उनले भने ।

पछिल्लो पुस्ताका शेर्पाहरुले पर्वतारोहणलाई छाड्दै गएकोमा उनी उत्तिकै निराश छन् । ‘पर्वतारोहणबाहेक धेरै विकल्पहरु उनीहरुसामु रहेकाले युवापुस्ताका शेर्पाहरुमा पर्वतारोहणप्रतिको आकर्षण घट्दै गइरहेको छ । उनीहरु पर्वतारोहण गर्नु भन्दा पनि विदेश जान रुचाइरहेका छन् ।

’नाम्गेलले ९ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । आमादब्लम हिमाल ८ पटक, मनास्लु ३ पटक, ल्होचे २ र अन्य साना पिकहरु आरोहण गरिसकेका छन् । सन् १९९४ मा सोलुखुम्बुको पाङबुचे गाउँमा जन्मेका छिरिङ नाम्गेलले शेर्पाको रुपमा १६ वर्षको उमेरबाट काम गर्न थालेका हुन् । हालसम्म उनले धेरै विदेशीलाई हिमालका शिखरसम्म पुर्‍याइसकेका छन् । शेर्पाहरुको प्रसंशा गर्नेहरुले भन्ने गर्छन् ‘सगरमाथा अक्सिजनबिना चढ्न सकिएला, तर शेर्पा बिना सगरमाथा चढ्न असम्भव छ । ’छिरिङ नाम्गेलजस्ता शेर्पा र गाइडका लागि यो भन्दा खुशीको कुरा के होला ?