समाचार

कांग्रेस कार्यसमितिको बैठक तेस्रो दिन पनि जारी रहने


काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बिहीबार सभापति देउवाकै निजी निवास बूढानीलकण्ठमा बसेको बैठकले आगामी भदौमा हुने भनिएको १४औँ महाधिवेशनबारे अझै छलफल गर्न बाँकी रहेकाले आज दिउँसो २ बजेका लागि बोलाइएको स्रोतले जनाएको छ ।

उक्त बैठकमा केन्द्रीय समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । केही दिन अघिबाट जारी बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन र महमन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका विभिन्न प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । बैठकमा बोल्ने नेताहरुले मुख्यगरी आगामी भदौ १६ देखि गर्ने भनिएको पार्टीको १४ औं महाधिवेशनको म्याद धेरै पछाडि सार्न नहुनेमा जोड दिएका छन् ।

संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले सभापति देउवाबाटै आएको प्रस्ताव अनुसार महाधिवेशन मंसिरसम्म गर्न सकिने बताइरहँदा संस्थापन इतरपक्षका सदस्यहरुले भदौमै महाधिवेशनको कार्यतालिकामा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन् । केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि प्राप्त सुझावका आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रसको लगातार तीन दिनदेखि केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ ।