Breaking

एसइई मूल्यांकनमा शिक्षकले ८० नम्बरभन्दा धेरै दिएमा कारण खुलाउनुपर्ने


काठमाडौँ –राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिए कारण खुलाउनुपर्ने नियम लागु गर्ने भएको छ।

बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेसँगै विगतबाट पाठ सिक्दै ८० नम्बर माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

गत वर्ष एसइई विद्यालयले मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको भन्दै परीक्षाको मर्यादा कायम गर्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिले गठन गरी मूल्यांकन हुने व्यवस्था गरिएको छ।

जस अनुसार प्रत्येक विद्यालयमा एसइई परीक्षा मूल्यांकन समितिमा पाँच सदस्य हुनेछन्। प्रधानाध्यापक समिति संयोजक हुने व्यवस्था छ भने स्कुलको गणित, अंग्रेजी, विज्ञान, र एक वरिष्ठ शिक्षक गरी चार सदस्यहरू रहनेछन्।