Breaking

आठ महिने शिशुको घाँटी रेटेर हत्या गर्ने आमा–बुवा पक्राउ


काठमाडौँ – रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका छन् ।
मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । हत्याको विस्तृत जानकारी बाहिर आइसकेको छैन । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा जग्गा सम्बन्धी विवादका कारण उक्त घटना घटेको देखिन्छ ।

२६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।

घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।