Breaking

अवधि नपुग्दै धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त


काठमाडौँ – चार वर्षका लागि नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई २७ महिना बाँकी छँदै सरकारले बर्खास्त गरेको छ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुुअगावै छोरीको नामबाट सेयर खरिद गरेका ढुंगाना गत १६ भदौदेखि निलम्बनमा परेका थिए ।

मन्त्रिपरिषद्को अघिल्लो बैठकले ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । सरकारले गठन गरेको न्यायिक छानबिन समितिका सिफारिस अनुसार ढुंगानालाई बर्खास्त गरिएको एक मन्त्रीले जानकारी दिए । बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए । ढुंगानाका अन्य नातेदारको नाममा पनि सेयर खरिद भएको खुलेको थियो ।