प्राणिको आत्माको उद्धारका लागि बौद्ध क्षेत्रमा ञ्युङने

प्राणिको आत्माको उद्धारका लागि बौद्ध क्षेत्रमा ञ्युङने

काठमाडौँ - वडादसैँको अवसरमा हत्या भएको प्राणिको आत्माको उद्धारका लागि बौद्ध क्षेत्रमा विभिन्न बौद्ध धर्म संस्थाले ञ्युङने(मौन व्रत) राखेका छन् । केही संस्थाहरुले १७ गतेबाट सुरु गरेका छन् भने केही संस्थाले फूलपातीको दिनबाट ञ्युङ्ने सुरु गरेका हुन् ।

धर्म श्रवन तथा चिन्तन विस्तार केन्द्र बौद्धले भने शनिबारबाट ञ्युङने सुरु गरेका छन् । केन्द्रमा करीव सय जना बुद्धधर्मवलम्वीहरु सहभागी भएका छन् । धेर्म श्रवन केन्द्रमा खेन्पो सोनाम छिरिङ लामाङले भक्तजनलाई ञ्युङनेको महत्व, यसको फाइदा र अष्टशीलको विषयमा प्रष्ट्याउँदै ञ्युङने राखेका छन् । यस्तै, गुरु संघ नेपाल बौद्ध, बौद्ध जागरण केन्द्र र स्वयम्भूमा समेत लामा गुरु सोनाम ग्युर्मीले ञ्युङने राखेका छन् ।

ञ्युङने मौन व्रत जीवनमा एकपटक पालना गर्नाले ४० कल्पको पाप काटिने धार्मिक विश्वास छ । यस्तै,देव र मनुष्यको उत्तम जन्म प्राप्त हुनेछ । आठ ञ्युङने मौनव्रत पालना गर्नाले श्रोतापछि ज्ञान प्राप्ति हुने, अनि मृत्यु पछि देवाचेनको शिङखममा जन्म प्राप्त हुने छ ।

करिव २५ ञ्युङने मौनव्रत पालना गर्नाले सकृतणामी ज्ञान बराबर प्राप्त भई ८० कल्पको पाप काटिने छ । ५० ञ्युङने मौनव्रत पालना पालना गर्न सके आनगमी ज्ञान बराबरी प्राप्त भई ८० हजार कल्पको पाप काटिनेछ । १०८ ञ्युङने मौन व्रत पालना गर्न सके अहर्त प्राप्त भई दश करोड कल्पको पाप अनि लेश आवरणहरू शुद्ध भई अपरामित बुद्धको सुखवती लोकमा जन्म हुनेछ ।

ञ्युङने मौनव्रत बस्दा के गर्नुपर्दछ ?

१. ञ्युङने व्रत क्रिया तन्त्र विधि अनुसार हुने भएकोले सर्वप्रथम नुहाएर सफा सुग्घर हुनुपर्दछ ।

२. सुतिको नयाँ लुगा लगाएमा उत्तम हुनेछ । पुरानो लुगा भए रगत र मासुुको दाग र गन्ध नभएको सफा र सुकिलो हुनुपर्दछ ।

३. आफुले प्रयोग गर्ने ओड्ने ओछ्याउने शुद्ध र चोखो रूपमा प्रयोग गर्नुपर्दछ ।

४. आफुले प्रयोग गर्ने भाडा वर्तन सफा र शुद्ध हुनुपर्दछ । त्यसमा विशेष गरी मासु, प्याज, लसुन, जाँड, रक्सीको गन्ध हुनुहुदैन ।

५. ञ्युङने व्रतको बेला गुम्बामा सुत्ने ठाउँ नपुगेमा नजिकको घरमा सुत्न सकिन्छ । राती ९ बजे सुति सक्नुपर्ने र बिहान सबेरै शील लिन आईपुग्नु पर्दछ ।

६. ञ्युङनेको समयमा बिहान छिटो उठ्ने बानी भएमा अरुलाई असर नपर्ने गरि उठ्नु पर्दछ । बिहान गुरुबाट शील लिनुपर्दछ ।

७. ञ्युङने बस्नेले गुरुबाट शील लिने बेला टुसुक्क बस्नुपर्छ । नबुझेमा साथीलाई सोध्नुपर्छ ।

८. शील २४ घण्टाको लागि हुनेछ । ञ्युङने बस्नेले गुरुबाट शील लिएपछि ८ वटा प्रतिज्ञा अनिवार्य रूपमा गर्नुपर्दछ ।

शीलको ८ वटा प्रतिज्ञाहरू

१. हत्या नगर्ने स् शील लिँदाको समयमा ठूलादेखि स–साना प्राणीहरू समेत मार्नु हुँदैन । झारपात र रुख समेत काट्नु हुँदैन ।

२. चोरी नगर्नेस् कसैको अनुमति बेगर कुनै पनि सामान चलाउने तथा चोरी गर्नुहुँदैन ।

३. झुठो नबोल्नेस् ख्याल ठट्टा गर्दा समेत झुठो बोल्नु हुँदैन ।

४. ब्रम्हचार्य पालनस् ञ्युङने बस्ने बेलामा स्त्री र पुरुष अलग अलग रहनु पर्दछ ।

५. निसा पालनस् यस समयमा जाँड, रक्सी, गाँजा र सुर्तीजन्य पदार्थहरू लिनु हुँदैन ।

६. आसन पालनस् सकेसम्म भुईंमा सुत्ने, बढीमा एक हात अग्लो, छालाबाट नबनेको, बास्नादार नभएको पलङ्गमा सुत्नु पर्दछ ।

७. सुगन्धित बस्तुस् ञ्युङनेको शील लिएको बेला गरगहना नलगाउने, श्रृंगार पटार नगर्ने र अत्तर छर्किने गर्नु हुँदैन ।

८. खानपिनस् दिनको १२ः०० बजेभित्र खाना खाइ सक्नुपर्नेछ । खाना नउठीकन पलेटि मारेर एकै स्थानमा बसि नउठी खानुपर्छ ।

उठेमा खाना खानु हुँदैन । खानु अघि थोरै खाना डल्लो बनाएर छेउमा राख्नुपर्छ र खाई सकेपछि फाल्नु पर्दछ । खानामा केराउ, गेडागुडी, मासु, लसुन, प्याज, अण्डा, मुला र केही सागसब्जी बार्नु पर्दछ । एक छाक खाना खाएपछि चिया र पानी गरी रातको ९ः०० बजेसम्म लिन सकिन्छ । त्यसपछि खानु, पिउनु र बोल्नु हुँदैन । गुरुको आज्ञा लिएरमात्रै खाना खानुपर्छ । कुक्पाको दिन बोल्नु त के पानी पनि नपिएर मौनव्रत बस्नुपर्दछ ।

ञ्युङनेको समयमा गुरुको अनुमति अनुसार जति सक्यो धेरै ढोक्नु पर्दछ । ढोगले गर्दा पूर्व जन्ममा आफुद्वारा गरिएको धेरै पापहरू काटिने छ । ढोग्न नसक्नेले हात जोडेर बस्नुपर्दछ । ञ्युङने बस्नु आफैमा धेरै राम्रो र पुण्य कार्य हो । यदि बस्न नसकेमा बस्नेहरूका लागि सहयोग पु¥याउन सकेमा पनि पुण्य उत्तिकै लाभ पाउन सकिन्छ ।

हामी मृत्यु पछि लिएर जाने केवल पुण्य र पाप मात्र रहेकोले शुद्ध हृदयले माथिका नियमहरू पालना गर्न सकिएमा धेरै फाइदा हुनेछ ।