आयरल्यान्डविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, पायो १४६ रनको लक्ष्य

आयरल्यान्डविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, पायो १४६ रनको लक्ष्य

काठमाडौँ - टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । ओमानमा जारी पाँच देशीय टि–२० क्रिकेट शृंखला अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले बुधबार आयरल्यान्डविरुद्ध खेलिरहेको छ ।

पहिले बलिङ गरेको नेपालले आयरल्यान्डबाट १४६ रनको लक्ष्य पाएको छ । आयरल्यान्डले पुरा २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो । अंक तालिकाको तेस्रो स्थानमा रहेको नेपालका लागि रन रेटका आधारमा दोस्रो स्थानमा रहेको आयरल्यान्डले रनको चुनौती पस्किएको छ ।

सुरुवाती १० ओभरमा निकै दबाबमा रहेको नेपाल त्यसपछि खेलमा फर्किएको थियो। नेपालका लागि सन्दिप लामिछानेले दुई, अविनाश बोहराले दुई, ललित राजबंशीले एक, करन केसीले एक विकेट लिए ।

आयरल्यान्डका लागि स्टरलिङ र एन्डीले दोस्रो विकेटका लागि ८८ रनको पाटनरसिप गरेका थिए। ओपनिङमा आएका स्टरलिङले ४७ बलमा ५९ रन बनाए। त्यस्तै, एन्डीले २८ बलमा ३८ रन बनाए । थोमसनले अन्तिम ओभरमा दुई छक्काको मद्धतमा १८ रन बनाएर आफ्नो खातामा २१ रन जोडे। अन्य ब्याट्सम्यानले कुनै चमत्कार गर्न सकेनन् ।

नेपालले केही बेरमा ब्याटिङ गर्नेछ। नेपालका लागि आजको खेल निकै महत्वपूर्ण छ । आयरल्यान्ड टेस्ट राष्ट्र भएकाले पनि नेपालको जितले अन्तर्राष्ट्रियस्तरमा महत्व राख्नेछ ।

यसअघि आइतबार भएको पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोमबार नेदरल्याण्डलाई हराएको थियो। उता आयरल्यान्डले हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो भने आयोजक ओमानसँग हार चाखेको थियो । ओमान क्रिकेटले आयोजना गरेको शृंखलामा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।