लिगलिगे दौड प्रतियोगिताको उपाधि हुमी बुढामगरलाई

लिगलिगे दौड प्रतियोगिताको उपाधि हुमी बुढामगरलाई

काठमाडौँ - दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि महिलातर्फ प्युठानकी हुमी बुढामगरले हात पार्न सफल भएका छन् ।

गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित ५ किलोमिटर दूरी ४२ मिनेट ६ सेकेण्डमा पूरा गर्दै बुढामगरले उपाधि जित्न सफल हुनुभएको हो । बुढामगर अल्ट्रा तथा म्याराथुन धावीक समेत हुन । प्रथम बुढामगरलाई नगद रु २० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले  जानकारी दिनुभयोे । 

प्रतियोगितामा नेपाली सेनाका सरिता वासीले ४३ मिनेट ४८ सेकेन्डमा तथा इन्द्रकला नेम्वाङ निकी ले ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो र तेस्रो भइन् । उनीहरुले क्रमशः रु १२ हजार १ सय र रु ७ हजार १ सय रुपैयाँ पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र  प्राप्त गरे । 

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो । 

यस वर्ष प्रतियोगितामा लाग्ने सबै पुरस्कार रकम भने नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गण गोरखाका प्रमुख सेनानी उज्वल केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ देशभरका कोट तथा ऐतिहासिक स्थानको प्रचारप्रचारका लागि नेपाली सेनाले काम शुरु गरिसकेको छ, त्यसैको तयारी स्वरुप लिगलिगे दौड प्रतियोगितामा पनि हाम्रो सहभागिता हो ।” 

नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता शुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको उहाँले बताउनुभयो ।

विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।