नपुरिएका घाउहरु

नपुरिएका घाउहरु

काठमाडौँ, ३० भदौ - आज फेरि आफनो कोठाको झ्यालबाट बहिर हेरी बसे  दिनहुँको जस्तो बानी भइसकेछ यसरी बस्ने एक्लै टोलाएर । यो कोठाको झ्याल र मेरो आफ्नै नेपालको मेरी आमाको भान्छाको झ्याल एउटै लाग्छ । उता हुँदा पनि म कहिलेकाँही यसरी नै टोलाएर बस्ने गर्थे । खोई के सोचेर बस्थे । भावहरुलाई पहिले देखि नै कलमबाट कापीमा उतार्ने बानी परेको थियो । शायद मेरी आमा र अलिकति भए पनि मेरो बुवाको प्रभाव परेको हुन सक्छ । विज्ञ नभएपनि विद्वान छन्, मेरा प्रेरणाका श्रोतहरु । 

स्कूलमा हुँदा पनि मलाई नेपाली विषय पढाउने गुरुबाले धेरैजसो भावनात्मक निबन्धहरुमा जोड़ दिने गर्थे । सधैँ भन्ने गर्थे कि म अलिकति भावनामा डुब्ने खालको मान्छे हुँ । अहिले आएर लगिराको छ सबै सत्य रहेछ । कहिलेकाहि लाग्छ म अति नै भावुक छु जस्तो, सानोभन्दा सानो कुराहरुले साह्रै असर पो गर्छ त गाँठे । यति सोच्दा सोच्दै ढोकामा कसैले ढक्ढक्याएको आवाज आयो । म झस्किएँ । ढोका खोल्न जान हिच्किचाँउदा पनि खोल्न पुगेँ । अनि आयो मेरो कालरात्रि ।

विदेशमा बस्छु भनेर के गर्ने, मेरो अवस्था कसले बुझिदिने । दिनभर मर्ने गरी काम गर, थाकेर घर आउ, खाना बनाउ अनि जब आफैंमा हराएर एकछिन बस्न खोज्छु, तब शुरु हुन्छ यो पीडा । यो ढोकाबाट भित्र आउन खोज्ने अरु कोही नभई, म सँग सात जुनी सँगै बाँच्ने कसम खाएको व्यक्ति हो । अनेक कुराहरु गरी,” तिमी पाईनँ भने मैले आफुलाई खतम गरिदिन्छु ।” भन्ने धम्कि सम्म दिने मान्छेसँग मलाई अहिले त्रास लाग्छ । तीन वर्ष भयो, म यसरी डरमा बाँचेको । कहिलेकांही लाग्छ, म यति कमजोर कसरी भएँ ।

विदेशमा महिलाको अधिकार झन् धेरै हुन्छ भन्ने कुरा ज्ञात हुँदा हुँदै पनि अहिले आंफै देखेर घृणा लाग्छ, आफ्नो लागि केही गर्न नसकेको देख्दा । ऊ भित्र आयो, केही नबोली । मुखबाट रक्सीको गन्ध आइरहेको छ । मेरो मुख पनि नहेरि सिधै बाथरूममा गयो । जब बाहिर आयो, लाग्यो उसले अर्को कुनै विध्वंस रुप धारण गर्यो । ममाथि हल्ला बोल गरे झैँ गरी आएर झापड हान्यो, एक्कासीको त्यो व्यवहारले म नतमस्तक भएँ । बोली फुटेन ।

आँखाबाट आँसु बग्न थाले थाह नै नपाई । केही सोध्न पनि आँट आएन । फेरी पनि ममाथि हात उठायो, उसलाई ममाथि अत्याचार गर्न कुनै कारण चाहिँदैन थियो । मलाई कोर्रारुपी डाम ज्यानभरि दिएर ऊ सुत्यो । म अफैलाई उठाउने प्रयासमा थिएँ । मेरो शरीरले हार मानिसकेको रहेछ । बिस्तारै आफुलाई उठाएँ । बाथरुममा गएर ओठबाट बगिरहेको रगतलाई सफा गर्दै सँगै राखिएको टावलले मुथ थुनेर डाँको छोडी रोएँ । जब आँसु सुकेर गए, बेसिनको आडमा राखिएको उसको फोनमा आँखा गयो । कहिले छुने हिम्मत गरेको थिईँन उसको फोनलाई । पासवर्ड लक रहेनछ । सजिलै फोनभित्र हेर्न पाएँ । फोटोहरु हेर्न पुगेछु ।

म एकछिन स्तब्ध भएँ, कुनै एउटा केटीसँग रहेछ उसको फोटो जति सबै । मिति हेरेँ ति सबै फोटोहरुको, कुनै २ महिना अगाडिका थिए भने कुनै ४ वर्ष अगाडिका थिए । उसको पहिलो प्रेम रहेछ, म त खाली एउटा सिढी रहेछु उसको लागि विदेश आउनलाई ताकि पहिलो प्रेमको नजिक रहन मिलोस् । पहिलो प्रेमले पनि भर्खरै विवाह गरेकी रहेछ, त्यही भएर ममाथिको यातना धेरै बढेको । त्यतिनै बेला मलाई मेरो भित्र दफन भएर बसेको आवाजले सानो स्वरमा भन्यो,” यहीँ हो बेला जब तिमीले आफ्नो हकको जीन्दगी जिउने मौका पाएकी छौँ । आफुलाई उठाऊ अनि सम्हाल । यो नर्कमा अब केही बाँकी छैन ।

माया नपाइने ठाँउमा यसको आशा पनि नराख ।” मन एक्कासी दर्हो भएर आयो, एउटा अनौठो शक्ति महसुस भयो । आँसु सबै पुछेर, मुख धोए । बाहिर निस्किएर आफ्ना धेरै थोरै सामान समेटी सुटकेसमा राखें । ऊ गहिरो निन्द्रामा पुगिसकेछ । आफुलाई बिस्तारै ढोका अगाडिसम्म लगें । एउटा घनिष्ट साथीलाई बोलाएँ फोन गरेर, जसलाई म बसेको ठाउँसम्म आउन समय लाग्दैन थियो । साथी पनि आइपुगि । अनि म मेरो सुटकेस बोकी एकचोटी पनि पछाडि नहेरि निस्किएँ । साथीको गाडीमा बस्दाँ मैले आफुले आफुलाई मुस्कुराइरहेको पाएँ । सोचेँ, अत्याचार गर्ने मान्छेले वफादारीको महत्व कहिले बुझ्दैन, बुझाउन पनि बेकार छ । अब शुरुवात नयाँ अध्यायको । मेरो नयाँ जीवनको र नयाँ पहिचानको ।