एसीसी अण्डर नाइन्टीन एसिया कप क्रिकेटमा नेपाल अन्तिम चरणको खेल खेल्दै

एसीसी अण्डर नाइन्टीन एसिया कप क्रिकेटमा नेपाल अन्तिम चरणको खेल खेल्दै

काठमाडौँ, २४ भदौ - श्रीलंकामा जारी एसीसी अण्डर नाइन्टीन एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ । सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले युएईसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार पौने १० बजेपछि सुरु हुनेछ । युएईविरुद्ध मैदानमा उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । युएईपनि नेपाल विरुद्ध सान्त्वना जितको खोजीमा हुनेछ ।

समूह ‘बी’ मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई अंकतालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।  दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो । सो समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेका छन् । नेपालले युएईसंग खेलेका पछिल्ला ५ मध्ये ४ खेलमा जित हात पारेको छ । तर, यसै वर्ष भएको युवा विश्वकप छनोटमा भने नेपाललाई युएईले हराएको थियो ।