सागका लागि बिच भलिबल कोर्ट निर्माण शुरु

सागका लागि बिच भलिबल कोर्ट निर्माण शुरु

काठमाडौँ - नेपालमा आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गरिने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि बिच भलिबल कोर्ट निर्माण शुरु गरिएको छ । 

बिच भलिबल खेल पोखरामा खेलाइने भएपछि पोखरा महानगरपालिका–६ स्थित  फेवाताल किनारमा आजदेखि भलिबल कोर्ट निर्माण शुरु गरिएको हो । खेलका लागि चार वटा मैदान आवश्यकपर्ने भएकाले तीन वटा नयाँ निर्माण गरिने र हाल विद्यमान कोर्टको स्तरोन्नति गरिने नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्षसमेत रहेका बिच भलिबल व्यवस्थापन समितिका संयोजक भीम पराजुलीले बताउनुभयो । 

उहाँका अनुसार चार वटा कोर्टमध्ये दुई प्रतियोगिताका लागि र बाँकी अभ्यासका लागि  प्रयोग गरिनेछ । कोर्टसँगै कपडा फेर्ने कोठा, बाथरुमलगायतका संरचनासमेत निर्माण गरिने र आगामी असोज पहिलो साताभित्रमा ती संरचनाको निर्माण सम्पन्न गर्ने योजना रहेको बताइएकोछ । 

कोर्ट निर्माण कार्यको अवलोकनका लागि पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले देशको प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई सफल बनाउनुपर्ने बताउँदै प्रतियोगिताबाट पर्यटकीय शहर पोखराको थप प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो ।    

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले व्यवस्थापन समितिमार्फत मैदान निर्माणको काम शुरु गरिएकाले तोकिएकै मितिमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

सागमा बिच भलिबलसहित महिला फुटबल, भारत्तोलन, महिला तथा पुरुष ह्याण्डबल, प्याराग्लाइडिङ, आर्चरी र ट्रायथोलन गरी आठ प्रतियोगिता पोखरामा सञ्चालन गर्ने योजना छ । पछिल्लो समय महिला क्रिकेट पनि पोखरामा गर्ने बारेमा छलफल शुरु भएको बताइन्छ ।