वैदेशिक प्राविधिक ज्ञानका लागि लगानी प्राधिकरण विधेयक आवश्यक– अध्यक्ष खड्का

वैदेशिक प्राविधिक ज्ञानका लागि लगानी प्राधिकरण विधेयक आवश्यक– अध्यक्ष खड्का

काठमाडौँ, ८ भदौ - प्रदेश नं १ अर्थ समितिद्वारा प्रदेशसभामा पेश गरिएको ‘सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ मा आवश्यक सुधारका लागि सरोकारवालासँग आज यहाँ छलफल कार्यक्रमको आयोजना गरियो ।

कार्यक्रममा समितिका अध्यक्ष मोहनकुमार खड्काले  नेपालीलाई प्रविधि ज्ञान वृद्धि गर्न, वैदेशिक पूँजी लगानी भित्र्याउन र नेपालीको आर्थिक उन्नति बढाउन सङ्घीय सरकारको नीतिअनुसार विधेयक प्रदेश सरकारमा पेश गरिएको बताउनुभयो ।

उहाँले विधेयकमा आवश्यक परिमार्जन गर्न ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई सहयोग प¥याउन आवश्यक सुझाव दिन सरोकारलाई आग्रह गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य यशोदा अधिकारीले नेपाली उद्योगी व्यापारीको लगानीको सुरक्षाको ‘ग्यारेण्टी’ गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश नं १ का कार्यवाहक सभापति राजेन्द्र राउतले रु पाँच अर्बभन्दा माथिको योजनामा विदेशी लगानी भित्र्याउन जोड दिँदै ठूला निर्माण कार्यमा नेपाली उद्यमीको बहुमतीय शेयर हुनुपर्ने सुझाव दिनुभयो ।

मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले  सगरमाथा, हलेसी, पाथीभरा जस्ता क्षेत्रमा विदेशी प्राकृतिक र धार्मिक पर्यटक ल्याउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने तथा वैदेशिक रोजगारीमा जाने युवालाई सरकारको लगानीमा गुणस्तरीय तालीम केन्द्र सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रमा नेपाल निर्माण व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल, इञ्जिनीयर एशोसिएशनका प्रदेश अध्यक्ष यशवन्त विक्रम शाह, उद्योगी अनिल शारडा, सहकारी बोर्ड सञ्चालक सदस्य रमेश पोखरेल, प्राध्यापक अर्जुन गौतम, निर्माण व्यवसायी सङ्घ मोरङका उपाध्यक्ष कमल गौतम र सञ्चारकर्मी विनोद सुवेदीले नेपाली उद्योगीलाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने र कृषिलाई उद्योगसँग जोड्नुपर्ने सुझाव दिनुभयो ।