प्रदेश ३ को प्रदेशसभाको बैठक आज बस्दै

प्रदेश ३ को प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौँ, ८ भदौ - प्रदेश ३ को प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्दै छ । ५९ दिनपछि आज २ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । बैठकमा विशेष समय लिएर मुख्यमन्त्री, प्रतिपक्ष दलका नेताहरुले बोल्ने सम्भावित कार्यसुुची रहेको सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा तीन वटा विधेयक र दुई वटा प्रतिवेदन पेश हुनेछ । संसदमा ‘सार्वजनिक निजी सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक’ पेश हुनेछ । यस्तै, औद्योगिक व्यवसाय ऐनसम्बन्धी विधेयकको प्रतिवेदन र राष्ट्रिय वनसम्बन्धी ऐनको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पनि संसदमा पेश हुने सचिवालयले जनाएको छ । गत असार १२ गते चालु आर्थिक वर्षको बजेट पारित गरेपछि स्थगित भएको प्रदेशसभा बैठक सुचारु हुन लागेको हो ।

प्रदेशको नामाकरण र स्थायी राजधानीका विषयमा प्रदेशसभामा मतभेद रहदै आएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पनि राजधानी र नामका विषयमा फरक मत रहेपछि सहमति जुट्न सकेको छैन । प्रदेशको राजधानीका लागि हेटौंडा, काभ्रे, चितवन, नुवाकोट र भक्तपुर प्रस्तावित छ । यस्तै प्रदेशको नाम गौरीशंकर, बागमती,नेपाल मण्डल लगायत राख्नुपर्ने आवाज उठ्दै आएको छ ।