सडक किनारमा सिलौटा बनाएर बेच्नेहरूको दुःख (भिडियो)

काठमाडौँ, ८ भदौ - काठमाडौंको सडक किनारलाई व्यवसाय स्थल बनाएका छन्, सिलौटा बनाउनेहरूले । ढुंगामा कला भर्नेहरूको जीवन भने सहज छैन । घामपानी धुलो धुवाँधुलोको सास्ती त छँदैछ वेलावेलामा नगरप्रहरी आएर दुःख दिन्छन् । यति गर्दा पनि आम्दानीले जीवनयापन गर्न भने कठिन नै हुन्छ ।  

चावहिल चोकबाट चक्रपथतर्फ जाँदा गोपीकृष्ण सिनेमा नपुग्दै सडकमा बसेर बिहानदेखि बेलुकीसम्म ढुङ्गा खोपेर गुजारा गर्ने धेरै भेटिन्छन् । सवारी साधनको ट्वाँट्वाँटुँटुँ र सडकको धुलोधुवाँ सहँदै ढुङ्गालाई सिलौटो र लोहोरो बनाउन त्यति सहज भने छैन । ‘तर पनि उनीहरु आफनो जीविकोपार्जनका लागि यस्तो काम गर्न बाध्य छन् । ढुंगामा एकतमासले छिनोको सहारामा हथौडाले हिर्काएर कलात्मक बुट्टा बनाउने उनीहरुको जीवन भने ढुंगामा कुदिएको बुट्टाजस्तो सुन्दर छैन ।

रूपन्देही बुटवलकी मीना कुसबाडियाले काठमाडौँको चाबहिल चोकलाई कार्यथलो बनाएको वर्षौ भयो । छिनो र हथौडाले ढुंगा कुँदेरै उनको दिन बित्छ । ११ वर्षको उमेरदेखि ढुंगा कुँदेर सिलौटो बनाउन थालेकी उनी अहिले ३५ वर्षकी भइन् । ढुंगा कुँदेर सिलौटो नबनाउने हो, भने उनलाई दुई छाक जुटाउन हम्मेहम्मे पर्छ ।

रुपेन्देहिका दुर्गेश कुसबाडियाले पनि छ । वर्षैैैदेखि यहि चाबहिल चोकलाई कर्मस्थले बनाएका छन् । पाँच जनाको परिवारको पालनपोषण गर्न सडकमा बसेर सिलौटो बेच्नुको विकल्प छैन । तै पनि भनेजस्तो आम्दानी हुँदैन । दैनिक खर्च चलाउन र छोराछोरीलाई पढाउन हम्मेहम्मे पर्छ ।

कामको सकस त छँदैछ। वेलालेलामा महानगर प्रहरीको आँखा यिनीहरूको सिर्जनामा पर्ने गर्दछ । नगरप्रहरीको आगमनसँगै दिनभर लगाएर बनाएका सिलौटा र औजार छिन्नभिन्न पारिदिन्छन् ।

स्वदेशमा काम नपाएर दिनुहुँ सयौैँ युवा विदेशिइरहेको कसैबाट लुकेको छैन । तर यहीँ श्रम गरेर रुखोसुखो खान्छु भन्नेका लागि अनेकथरीका उल्झन छन् । सडकमा बसेर ढुंगा कुँद्नेको सीपको सम्मान गर्न र उनीहरूको जीवयापन सहज बनाउन राज्यले उचित पहल गर्नुपर्दछ ।