राजधानीमा नयाँ आकाशे पुल निर्माण हुने

राजधानीमा नयाँ आकाशे पुल निर्माण हुने

काठमाडौँ, २८ साउन - काठमाडौँमा सवारी साधनको चाप बढेसँगै आकाशे पुलको माग बढिरहेको छ । काठमाडौँका सवारी चाप बढी भएका स्थानमा समेत पुल नहुँदा पैदलयात्रु सडकबाटै बाटो काटिरहेका छन् । महानगरको कुरा पत्याउने हो, भने अब पैदलयात्रुको यो सास्ती छिट्टै हट्दै छ । 

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा पैदलयात्रुको अत्यधिक चाप देखिएका केही स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

यसपटक महानगरले आफ्नै खर्चमा स्थानान्तरण गर्न मिल्ने किसिमका पूल निर्माण गर्दैछ । त्यसका लागि एक करोड १ लाख  ३ सय ३९ रुपैयाँ छुट्याएको छ । चाबहिल, माइतीघर पुरातत्व विभाग आगडि, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्न छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाइने महानगरले जनाएको छ । 

चाबहिल, जय बागेश्वरीलगायतका स्थानमा आकाशे पुल निर्माणका लागि अघिल्लो वर्ष नै महानगरले बजेट विनियोजन गरेको थियो । तर सडक बिस्तारको काम भइरहेको भन्दै ती पूलहरु अहिलेसम्म बन्न सकेका छैनन् । सवारीसाधनको अत्यधिक चाप हुने पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ । पैदल यात्रु जथाभावी बाटो काट्दा जोखिम र सवारी जामको सास्ती झेल्न बाध्य छन् । 

स्थानीयको तीब्र गुनासो आइरहेका बेला महानगरले समयकै निर्माण सम्पन्न गर्ने जनाएको छ । नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिने छ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसपटक विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशे पुलको डिजाइन तयार भएको र अन्यको तयारी चरणमा रहेको महानगरले जनाएको छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।