लम्बिदै चक्रपथ सडक निर्माण

लम्बिदै  चक्रपथ सडक निर्माण

काठमाडौँ, २८ साउन - काठमाडौंको चक्रपथ बिस्तारको काम शुरु भएको वषौँ भयो । चीनिया सहयोगमा भइरहेको सडक बिस्तारको पहिलो चरणको काम सकिएपनि दोस्रो चरणको काम अझै सुरु हुन सकेको छैन । नेपाल पक्षका सम्बन्धित निकाय भने एकअर्कालाई आरोप प्रत्यारोपमा अल्झिरहेका छन् । 

एकिकृत विकास योजना कार्यान्वयन नहुँदा सहरी बिकासका थुप्रै कामहरु प्रभाबित हुँदै आएका छन् । उपत्यकामा भइरहेको सडक बिस्तारको काम लामो समयदेखि प्रभाबित छ । सम्बन्धित निकाय भने एकअर्कालाई दोषारोपण गरिरहेका छन् । चीनिया सहयोगमा पहिलो चरणमा चक्रपथको कोटेश्वर कलंकी खण्डको काम सम्पन्न भइसकेको छ । दोस्रो चरणमा  कलंकी–महाराजगञ्ज–चावहिल खण्डको बिस्तार गर्ने सहमति छ । तर अहिलेसम्म डिपीआर समेत तयार भएको छैन । डिपीआर भएपछि मात्रै आयोजनाको लागत, सम्पन्न हुने समय, यस सडक खण्डमा पर्ने पुलको संख्या लगायतका बिषय टुङ्गो लाग्छ । तर सम्बन्धित निकायले काममा समयमै सम्मन्वय नगर्दा लामो समयदेखि काम रोकिएको छ ।  

यता चक्रपथ सुधार आयोजना आफैले गर्नु पर्ने साईट क्लियिरेन्सको काम समेत सुरु हुन सकेको छैन । रुख काट्ने, विद्युतको पोल हटाउने, अनाधिकृत संरचना हटाउने लगायतका काम नेपाल पक्षले गर्नु पर्ने काम हो । आयोजनासँगै विद्युत प्राधिकरण र वन विभागले पनि काममा बिलम्ब गरिरहेका छन् । चक्रपथ सुधार आयोजनाले भने सम्बन्धित निकायमा पहिले नै पत्र पठाइसकेको बताउँछ । 

कलंकी महाराजगञ्ज चावहिल खण्ड अन्तर्गत कतिपय स्थानमा प्रहरी चौकी लगायत सरकारी संरचना समेत हटाउनुपर्ने अवस्था छ । विश्वसम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथको केही खण्ड समेत भत्काउनु पर्ने अवस्था छ । साइट क्लिएरेन्सको काम रोकिएकै कारण पहिलो चरणमासमेत निर्धारित मितिमा काम पूरा हुन सकेन । जसका कारण सर्वसाधरणले सडक जाम र वातावरणीय प्रदुषणको सास्ती खप्न बाध्य छन् । दोस्रोपक्षलाई दोष देखाएर पन्छिने प्रबृतिले बिकासका गतिविधिहरु नै अलपत्र परेका छन् ।