‘सरकारको आलोचना गर्ने विरूद्ध अरिंगालको गोलो जसरी हमला गर्नुस्’

‘सरकारको आलोचना गर्ने विरूद्ध अरिंगालको गोलो जसरी हमला गर्नुस्’

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष्न केपी शर्मा ओलीले सरकार आलोचना गर्ने विरुद्ध सामूहिक प्रतिवाद गर्न पार्टीका शीर्ष नेताहरु प्रति लक्षित गर्दै निर्देशन दिएका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा आयोजित कार्यक्रममा नेपाल ओलीले पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्ष बीच भाँजो हाल्ने प्रयास भइरहेको  भन्दै सबै कार्यकर्तालाई सचेत हुन आह्वान समेत गरेका छन् । 

उनले सरकारविरुद्ध प्रतिक्रियावादीहरुले हमला गरेर आम जनतालाई निराशा पैदा गर्न खोजेको समेत आरोप लगाए । ‘केपी ओलीलाई हमला गरेको छ, मलाई होइन भनेर मुख थुनेर बस्ने होइन् । एउटा अरिंगाललाई चलायो भने सबै गोलो झम्टिन्छ त्यस्तै गरी झम्टिनुपर्यो। एउटालाई आक्रमण गर्दा सबै जाइलाग्नुपर्छ । अरिंगालको जति पनि हाम्रो बुद्धि छ कि छैन’ ओलीले भने । 

ओलीले बोगटीको सपना पूरा गर्न पार्टी एकता सुरु गरिएको र यसलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘उहाँको सपना आदर्श, राजनीतिक मात्र होइन सबै अधिकार भएको लोकतान्त्रिक समाज बनाउने हो । साना स्वार्थ, जिद्द, अहंकारमा अल्झियौं भने उहाँका सपना कहिल्यै हुन सक्दैन । पार्टी एकतालाई गति पूर्णरुप टुग्याउनै पर्छ ।’ ओलीले भने ।

ओलीले पार्टी एकताप्रति बाहिर ठिक्क र भित्रभित्रै भाँजो हाल्ने काममा नेताहरु नै सक्रिय रुपमा लागेको आरोप लगाए ।

अध्यक्ष ओलीले पार्टी एकता जाने श्रीखण्ड नजाने खुर्पाको बिँड हुने चेनावनी दिए । उनले भने, ‘हामीले श्रीखण्ड पैदा गरेका छौं । जान्यो भने श्रीखण्डले यो धर्तीमा सुगन्ध फैल्याउँछ । अन्यथा खुर्पाको बिँड हुन्छ ।’

सुखी नेपाली र समृद्ध नेपाल सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिष्ट आन्दोलन एक ढिक्का भएको भन्दै उनले अब यो एकता कहिल्यै विभाजित नहुने पनि बताए।