निर्मला हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाडिन्छ : गृहमन्त्री

निर्मला हत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याएरै छाडिन्छ : गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको कठघरामा ल्याएरै छाड्ने  र अनुसन्धानको सिलसिलामा कहीं कतैबाट  गल्ती नहुने बताएका छन् । 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा उठेका प्रश्नको शुक्रबार संसदमा जवाफ दिदै गृहमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

 बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले निर्मला हत्याकाण्ड र अन्य घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेपछि थापाले आज जवाफ दिएका हुन् । ‘अनुसन्धानको सवालमा कहीँ कतैबाट लापरबाही वा गल्ती भएको पाइएमा संलग्न जो कोहीलाई दण्डित गर्न मन्त्रालय प्रतिवद्ध छ र सोही बमोजिम मातहत निकायलाई निर्देशन दिएको छ’ु जवाफमा मन्त्री थापाले भने । 

महिला तथा वालबालिका माथि गरिने बलात्कार र हत्या जस्तो जघन्य अपराधका दोषीविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाउने र घटनाका दोषीहरुलाई कानूनी सजायबाट उन्मुक्ति नदिइने उनले बताए ।