अनुसन्धानमा तानिएका निलम्बित एसपीकाे डिएनए परिक्षण हुने

अनुसन्धानमा तानिएका निलम्बित एसपीकाे डिएनए परिक्षण हुने

काठमाडौं– कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कार र हत्याको प्रकरणले हरेक दिन नयाँ मोड लिन थालेको छ । त्यही क्रममा प्रहरी प्रधान कार्यालयले निर्मला बलात्कार र हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोपमा कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ ।

नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको हो । यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डिएनए परिक्षण गर्दा घटनामा संलग्न नरहेको पाइएपछि सामान्य तारेखमा मंगलबार रिहा गरिएका थिए । उनीसँगै घटनामा संलग्न रहेको आशंकामा गिरफ्तार गरिएका रोसनी बमलाई सामान्य तारेखमा तथा बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा छोडिएको थियो ।

शंकास्पद मानिएका तीन जनाको घटनामा संलग्नता नदेखिएपछि प्रहरीले नयाँ शिराबाट अनुसन्धानलाई अगाडि बढाएको हो । न्यायको लागि हाल काठमाडौं आएका निर्मलाका बुवाआमा तथा आफन्तले निलम्बित एसपी विष्ट, उनका छोरा तथा मेयरका भतिजाको पनि डिएनए परिक्षण हुनुपर्ने माग राखेका थिए । घटना भएको ४९ दिन पुगिसक्दा पनि निर्मलाको हत्यारा पत्ता लागाउन प्रहरी असमर्थ छ ।