चाडपर्वको होइन त्यसभित्रका कुरितिको अन्त्य हुनुपर्छ

चाडपर्वको होइन त्यसभित्रका कुरितिको अन्त्य हुनुपर्छ

तीज मेरा लागि चाड मात्र होइन, बाल्यकालको मिठो संस्मरण पनि हो । अर्थात मेरो बाल्यकालसँग जोडिएका अनेकौं स्मृतिमा तीज म पनि एक हो  । म जुन ठाउँमा जन्मिएँ– हु्र्किएँ, त्यो भेगमा यो पर्वको निकै निकै महत्व पनि छ । अरु ठाउँमा दशैंमा मात्र नयाँ लुुगा लगाइन्थ्यो । तर, हाम्रा जन्मस्थलमा तीजमा नै नयाँ लुगा लगाईन्थ्यो ।

यो चाड मनाउनै हुन्न भनेर कसैले भन्छ भने त्यो मानिस नै गलत हो, मेरो नजरमा । मानिसहरुले चाड पर्व मनाउँछन् । त्यो स्वभाविक हो । मानव सभ्यतासँग जोडिएका केही विशिष्ट परम्परा हो, चाड–पर्व । त्यसको निरन्तरताले नै आजको समाजको निर्माण हुन्छ । मेरी आमा तीज आउँदा ज्यादै खुशी हुनुहुन्छ किनकी उहाँले जन्मेदेखि तीज मनाउँदै आउनुभएको छ । अर्थात् मेरी आमा जस्तै लाखौं आमाहरु यो पर्वको  आगमनसँगै रमाउन थाल्नुहु्न्छ । यो कम खुशीको विषय होइन । 

हिजो तीज नेपाली महिलाले दुख पीडालाई एक आपसमा साटासाट गर्ने र एक आपसमा भेट भएर खुसी मनाउने पर्व थियो । आमाहरु त्यसरि नै मनाउनु हुन्थ्यो । दुखका गीत गाउने, नाच्ने विरह भाकामा आफ्ना कुराहरु राख्ने गर्नु हुन्थ्यो । हामीले त्यसलाई जागरण र सचेतनाको लागी प्रयोग ग-यौं । अहिले पनि एक ठाउँमा भेला हुने र सचेतनाको लागी कुरा गर्ने, रमाउने पर्वको रुपमा हेरिँदैछ ।

म पनि यो पर्व मनाउँछु , साथीभाईसँग भेटघाट गर्ने, परिवारसँग भेटघाट गर्ने । रमाईलो गर्ने । यहि त हो यो पर्वको बिशेषता । यस्तो पर्वलाई पनि कसैले विरोध गर्न सक्छ होला र ? जहाँ ब्रत बस्ने कुरा आउँछ, त्यो फरक पाटो हो । हिजो के का लागी बसे र आज के का लागी बस्छन् भन्ने कुरा अलि फरक भइसक्यो जस्तो लाग्छ । अघिल्लो दिन धेरै खाएर भोलि पल्ट ब्रत बस्दाले स्वास्थ्यलाई खासै हानी प-याउँछ जस्तो लाग्दैन् । विशिष्ट परिस्थितीमा भने आफैले ख्याल गर्नुपर्दछ जस्तो लाग्छ । ‘फास्टिङ’ त अरुले पनि त गर्छन नी हैन र ? 

हामी समाज र राज्य व्यवस्था त फेर्न सफल भईसकेका छौं भने चाड पर्वभित्रका खराब पक्ष त बदल्न सकिहाल्छौं नी । र बिस्तारै बदलिँदै जान्छ पनि तर यो मनाउनै हुँदैन भन्ने कसैको मत हुन सक्ला । तर, ती भिन्न स्वार्थका निम्ती बोल्छन् र लेख्छन् । मेरो भने यसमा फरक मत छ । चाडपर्वको संरक्षण हुनुपर्छ, चाडपर्वभित्रका कुरितिको हामीले आफैंले अन्त्य गर्नु पर्छ ।  

पछिल्लो समय पुँजीवादले पनि यो पर्वलाई बढाबा नै दिएको छ । जस्तो कि तीजको अवसरमा बैंकहरुले खाता खोल्ने अफर दिन्छन् । संचार माध्यमले पनि यसको प्रोत्साहनमा लेख्छन् । विज्ञापन पनि यसैबाट लक्षित हुन्छन् । यसले पनि यसको महिमा झनै बढेको छ । 

समग्रमा कुरितिहरु छन् भने यो विस्तारै हट्दै जान्छन् नै तर, पुरै पर्वकै बिरोध गर्नुको कुनै औचित्य छैन ।

(लेखक नेकपाका केन्द्रिय सदस्य तथा सांसद हुन् ।)