खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा

भीमदत्तनगर - इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गर्नुभएको छ । 

 

झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गर्नुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बन्नुभएको छ । चार वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक मौरीपालन थाल्नुभएका ४३ वर्षीय खत्री खेल छाडेर कृषि व्यवसायमा आउँदा कुनै पछुतो नभएको बताउनुहुन्छ । 

“देशका लागि खेलियो”, उहाँले भन्नुभयो, “कृषि व्यवसायबाट पनि देशलाई केही दिन सकिन्छ भनेर मौरीपालनमा लागेको हुँ ।” खत्रीले अहिले ८० घार मौरी पाल्नुभएको छ । “‘मौरीपालनको आफ्नै तौरतरिका छन्, सोचेजस्तो सजिलो व्यवसाय भने होइन रहेछ”, खत्रीले भन्नुभयो । विसं २०५४ देखि २०६५ सम्म लगातार कुस्तीको राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका खत्रीले २०६५ सालमा एक वर्ष करारमा कुस्ती प्रशिक्षक भएर खलाडी उत्पादनसमेत गर्नुभएको थियो ।  

खेल प्रतिष्पर्धामा रहँदासम्म उहाँले राष्ट्रिय स्तरसम्म पदकविहीन हुनुपरेन । विसं २०४८ देखि खेलकूदमा सक्रिय खत्रीले २०७१ सालदेखि घरमा पाँच घार मौरी भित्र्याएर मौरीपालन शुरु गर्नुभएको हो । “स्मृतिका गफले मात्रै देश अघि बढ्न सक्दैन”, उहाँले भन्नुभयोे, “युवा पुस्तालाई कृषि व्यवसायमा लगाउन सक्नुपर्छ ।” 

मौरीपालनसँगै मौरी उत्पादनमा समेत जोड दिनुभएका खत्रीले रु ९० हजारभन्दा बढीमा मौरीका घारसमेत बिक्री गर्नुभएको छ । “सानैदेखि मौरीप्रतिको मोहले यसतर्फ लागे”, उहाँले भन्नुभयो, “अहिले मौरीमालनमै दैनिकी चलिरहेको छ ।” ‘मेलिफेरा’ जातको युरोपबाट भित्र्याएको मौरी खत्रीले पाल्नुभएको छ । मौरीपालनसम्बन्धी विभिन्न तालीमसमेत लिइसक्नुभएका खत्रीले मौरीपालनबारे  आधुनिक र प्रविधिबारे कृषकलाई जानकारी न्यून भएको बताउनुभयो । 

“मौरीपालनमा लाग्ने कृषकलाई राज्यले प्रोत्साहन गरे यो फष्टाउन सक्छ ।” उहाँले भन्नुभयो, “मह बिक्री गर्न बजारको समस्या छैन ।” खत्रीले वार्षिक चार क्विन्टलदेखि पाँच क्विन्टलसम्म मह उत्पादन गरिरहनुभएको छ । “घरबाटै प्रतिकिलो रु ८०० का दरले मह धमाधम बिक्री हुँदैछ ”, उहाँले भन्नुभयो, “मागअनुसारको मह पु¥याउन सकिएको छैन ।”

असोजदेखि जेठसम्म मह बनाउने उपयुक्त समय हो । मौरी चराउन जिल्लाभर लैजाने गरिएको छ । “अहिले केही घार मौरी जामुनको रुख भएको पिपरिया क्षेत्रमा लगेर राखेको छु”, खत्रीले भन्नुभयो, “चिउरीको मह सङ्कलन गर्न मौरीसहितको घार जोगबुढा लैजाने योजना छ ।” खत्रीले मौरी चराउन जामुन, चिउरी, लिचीको बगैँचा, सिमलको रुख भएको चुरे क्षेत्रमा लैजाने गर्नुहुन्छ । 

“चराउन लैजाँदा बेलुकी मौरी प्याक गरेर राति नै गाडीमा लगिसक्नुपर्छ ।” उहाँले भन्नुभयो, “मौरी घार भएको ठाउँबाट पाँच किलोमिटर टाढासम्म चरेर फर्किन्छ ।” एउटा घारमा ३० हजारदेखि ९० हजार मौरीसम्म हुने उहाँ बताउनुहुन्छ । उहाँले स्थानीय तललगायत सम्बन्धित सरकारी निकायबाट  मौरीपालन गर्न अनुदान पाएको बताउनुभयो ।

“गत वर्ष भीमदत्तनगरपालिकाले मौरीपालनतफर्ल प्रोत्साहन गर्न रु चार लाख ५० हजार दिएको थियो”, खत्रीले भन्नुभयो, “त्यसअघि जिल्ला कृषि कार्यालयबाट पनि रु ३० हजार अनुदान पाएको थिए ।” मह विभिन्न औषधिका रुपमा प्रयोग हुन्छ । यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ । “मौरीको विष पनि हितकारी नै हुन्छ”, उहाँले भन्नुभयो, “वातावरणीय प्रर्यावरणमा पनि मौरीको भूमिका अहम् रहन्छ ।” रु दश लाखको लागतमा मौरीपालन थाल्नुभएका खत्रीले मौरीपालनबाट खासै नोक्सानी नभएको बताउनुभयो । 

पछिल्लो समयमा यहाँ मौरीपालनतर्फ किसान आकर्षित हुँदै गएका छन् । व्यवसायमा आउन चाहनेलाई स्थानीय तहले सहयोग गर्नुपर्ने उहाँ बताउनुहुन्छ । मुलुकभित्रै केही गरौँ भन्ने उद्देश्य लिएका युवाले खाडी मुलुकको चर्को गर्मीमा मजदूरी गर्नुभन्दा मौरीपालन सयौँ गुणा वेश हुन्छ । उहाँले भन्नुभयो, “राज्यले कृषि पेशालाई प्राथमिकतामा राख्नु पर्छ ।”