लुक्ला एयरपोर्टले जन्माएकी विमानचालक

लुक्ला एयरपोर्टले जन्माएकी विमानचालक

काठमाडौ - उहाँले अनुभूति गर्न थाल्दा नै लुक्लामा हवाईजहाज आउजाउ भइरहन्थ्यो । हवाईजहाज उडेको, बसेको सबै घरको झ्यालबाटै देखिन्थ्यो । त्यसैले हवाईजहाज कस्तो हुन्छ ? कत्रो हुन्छ ? कति जना सम्म चढ्न मिल्छ भन्ने कौतुहलता उहाँको मनमा आउँदै आएन । 

 

हवाईजहाजका बिषयमा त्यत्ति धेरै जिज्ञासा नभए पनि हवाईजहाज कहाँबाट उडेर आउँदो हो ? ती गोरा मानिसहरु कहाँ देखि आएका होलान् ? जस्ता प्रश्नहरु भने उहाँको मनमा खेलिरहन्थ्यो । किनकि पर्यटक सिजनमा धेरै देशका मानिसहरु लुक्लामा हवाईजहाज चढेर आइपुग्थे । ती मध्ये कति त उहाँको घरसम्म पनि आईपुग्थ्यो । 

उहाँको बुबा चुङबा शेर्पा हवाई यातायातमा संलग्न हुनुहुन्थ्यो । बुबाको पेशा हवाई क्षेत्रसँगै सम्बन्धित भएकाले बुबाका साथीहरु प्रायः पाइलटहरु नै हुने गथ्र्यो । कतिपय हेलिकोप्टरका पाइलटहरु उहाँको घरमै आउनुहुन्थ्यो । दिनहुँजसो पाइलटहरु देखिरहेपनि भविश्यमा पाइलट नै बन्छु भन्ने उहाँलाई कहिल्यै पनि लागेको थिएन । तर आज उहाँ कुशल क्याप्टेनको रुपमा आफ्नो परिचय बनाउँदै हुनुहुन्छ । उहाँ हुनुहुन्छ सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका लुक्लाकी ‘क्याप्टेन बन्द शेर्पा ।’ 

 

 

लुक्लामै जन्मिएर कक्षा चार सम्मको पढाई उहाँले महेन्द्रज्योति माध्यमिक विद्यालय चौरीखर्कबाट पूरा गर्नुभयो । त्यसपछिको पढाई काठमाडौको सरस्वतीनगर स्थित ड्याफोडेल पब्लिक स्कुलबाट सुरु गर्नुभयो । 

दशै छुट्टी, कहिले हिउँदे बिदा त्यत्तिबेला लुक्ला गईरहनुपथ्र्यो । एक दिनको कुरा । त्रिभुवन विमानस्थलबाट लुक्ला जानुपर्ने भयो । हवाईजहाज बाहेक अर्को बिकल्प पनि थिएन लुक्ला पुग्नलाई । त्यत्तिबेला एयरपोर्टमा चालकदलका सदस्यहरु देख्दा भने उहाँलाई साँच्चिकै हवाई क्षेत्रमा प्रवेश गर्न मन लागेको थियो रे ! तर पाइलट नै बन्नसक्छु भन्ने चाहिं लागेको रहेनछ । 

‘म चालकदलका सदस्यहरुलाई देखेपछि एकोहोरो भएछु, चिटिक्क परेर युनिफर्ममा सजिएका उनीहरुलाई देख्दा मेरो मनले भनिरहेको थियो, आहा ! कति रमाईलो जिन्दगी, आकाशमा उड्न पाउने । साँच्चिकै म पनि यस्तो हुन पाए कस्तो हुन्थ्यो ? भन्ने चाहिं लागेको थियो । तर पाइलट हुन सकुँला भन्ने लागेको थिएन ।’ उहाँले पहिलो पटक मनमा पाइलट हुने रहर पलाएको कुरा सुनाउनुभयो । 

 

तिमी चिताउ म पु¥याईदिन्छु भने झैं उहाँको इच्छासँग बुबाको प्रस्तावले मेल खायो । 

सन् २००७ तिरको कुरा हो । उहाँका बुबा चुङ्बा शेर्पा, तारा एयरलायन्सको स्टेशन म्यानेजर हुनुहुन्थ्यो । स्टेशन म्यानेजर भएपछि पाइलटहरुसँग दिनहुँ जसो अन्तरक्रिया भईरहन्थ्यो । त्यत्तिबेला सम्म पनि तारा एयरलायन्समा तीन चार जना मात्र महिला पाइलटहरु हुनुहुन्थ्यो । एक दिन कुरैकुराको सीलसीलामा उहाँको बुबाले सोध्नुभयो । ‘पाइलट कोर्स गर्न सक्छौं ? कोर्स गरेपछि उडाउन सक्छौ त ?’ 

उहाँले बुबाको प्रस्तावलाई निस्तेज हुन दिनु भएन । जवाफमा भन्नुभयो ‘म सकिहाल्छु नि ? आँट गरेपछि नसक्ने भन्ने हुन्छ ?’ 

...................................................

 

बुबाको इच्छा र उहाँको रुचि बमोजिम सुरुमा स्टुडेन्ट पाइलट लाइसेन्स लिनुभयो । त्यसपछि प्राइभेट पाइलट लाईसेन्स, कमर्सियल पाइलट लाइसेन्स प्राप्त गर्दै अन्त्यमा एयरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्राप्त गर्नुभयो । 

एयरलायन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स प्राप्त गरेको झण्डै दुई बर्ष पछि उहाँ यति एयरलायन्समा जुनियर को – पाइलट भएर नियुक्त हुनुभयो । त्यसपछि को – पाइलट र सिनियर पाइलट हुँदै अहिले यति एयरलायन्सको क्याप्टेन बन्नुभएको छ । 

उहाँ अहिले काठमाडौ – पोखरा, काठमाडौ – भैरहवा, काठमाडौ – जनकपुर, काठमाडौ – भद्रपुरमा उडान भर्नुहुन्छ । हवाईजहाज उडाउन थालेको पाँच÷६ बर्षको अवधिमा उहाँ करिब ३५ सय घण्टा भन्दा बढी आकाशमा उडिसक्नुभएको छ । 

संयोगको कुरा त के भने उहाँले पाइलट भएपछिको पहिलो उडान आफ्नै बर्थ डे का दिन उडाउनु भएको थियो रे ! आन्तरिक उडान गर्दै आउनुभएकी बन्द शेर्पाको अबको लक्ष्य अन्तर्राष्ट्रिय उडान भर्ने हो । उहाँलाई योहो खबर डट कमको तर्फबाट धेरै धेरै शुभकामना ।