हाम्रो आगमन केका लागि !

हाम्रो आगमन केका लागि !

हामी नेपाली अहिले जुन शासन व्यवस्थामा बाँचिरहेका छौं, त्यो विश्वमै घमण्ड गर्न लायकको छ । तर, विभिन्न आन्दोलन अनि असंख्यौं बलिदानपछि प्राप्त यही उपलब्धिमा हामी रमाउन सकिरहेका छैनौं । जनतामा निराशा छाउनु स्वाभाविकै पनि हो । स्वास्थ्य–शिक्षामा सहज पहुँच वा समृद्ध मुलुक अहिलेपनि हाम्रा लागि परिको कथा झैं लाग्छ । दुई छाक पेटभरी खान अहिले पनि स्वदेशमा होइन, विदेशमा नंग्रा खियाउनु पर्ने बाध्यता छ ।

यसअर्थमा विकासको गति र हासिल उपलब्धिहरुलाई केलाउने हो भने हामी अहिलेपनि कुनै दरिद्रतम मुलुकभन्दा अगाडि छैनौं । होला पछिल्ला वर्षहरुमा परिवर्तनका लागि भएका आन्दोलनको कारण राजनीतिक चेतनाको स्तरका आधारमा हामी कुनै विकसित मुलुकका नागरिकभन्दा कम पनि छैनौं । तर, सत्य यो पनि हो, राजनीतिक चेतनाले मात्र मुलुक अगाडि बढ्न सक्दैन, जनताको मुहारमा हाँसो ल्याउन सक्दैन । समृद्धि र उन्नतिको मापन गर्ने हरेक आधारमा हामी निकै तल छौं । भोगिरहेको जिन्दगीलाई अलिकति भएपनि सहज बनाउने सपनामा नै हामी हराइरहेका छौं । अनि मरभूमिको तातो बालुवामा डढेका हाम्रा हातहरुले मुलुक भित्रने रेमिट्यान्सको सूचक त बढाउएला तर हामीमध्ये कति जना कुन बाकसमा बन्द भएर स्वदेश फर्कनु पर्ने हो, त्यो हामीलाई नै थाहा छैन ।  हाम्रा गाउँ–बस्ती अहिलेपनि जातीय भेदवाद र छुवाछुतबाट मुक्त हुन सकेको छैन । अनि कहिले निर्माण होला सबल र समृद्ध नेपाल? अहिले पनि यो प्रश्न अनुत्तरित छ, जसरी राणा शासन ढल्दा थियो । अनि पञ्चायत उदाउँदा र अस्ताउँदा थियो अनि दसक अगाडि गणतन्त्रको जग बसाल्दा पनि थियो नै । नयाँ संविधान अनि संघीयता लागू गर्दा पनि यही प्रश्नले हामीलाई कोट्याइरहेको थियो । तर, हामी निरुत्तर छौं, जसरी हिजो थियौं, आज पनि ।

समृद्ध राष्ट्रको नागरिक बन्ने हाम्रो चाहना पाप पनि होइन । विसंगति र भष्ट्राचारमुक्त राज्यको कल्पना गर्नु अपराध पनि होइन । दुई छाक पेटभरी खान पाएको सपना साँच्दैमा कोही लोभी पनि बन्दैनन् । आफ्नै गाउँ–घरमा चिल्ला सडक बनेको हेर्ने चाहना पाल्नु कुनै दुस्साहस पनि होइन । धाराबाटै आएको स्वच्छ पानी पिउने, आफ्नै खेतमा फलेको अन्नबाट पेट भर्ने चाहना पाल्नु पनि कुनै गल्ती होइन ।

आखिर के नै चाहन्छ र साधारण नागरिक ? चिन्तारहित मिठो निन्द्रा, जुन निन्द्रामा भोलि के खाने भन्ने समस्या नघोलिएको होस् । अनि रोग लाग्दा सुविधा सम्पन्न अस्पतालमा खारिएका चिकित्सकहरुबाट उपचार गराउने अनि अकालमा नमर्ने चाहना । अनि के नै चाहन्छ र साधारण नागरिक ? खाडीको तातो बालुवाले कालो नबनेको अनुहार । अनि आफ्नै मातृभूमिमा रोजगारीको अवसर । अनि सन्तानका लागि गुणस्तरिय शिक्षा–स्वास्थ्य ।

हामी पनि यही समाजका हौं र यही समाजको प्रतिनिधि बनेर अगाडि बढ्न चाहन्छौ । अब कुनै नेपाली प्रदूषित वातावरणका कारण नमरुन् । दूषित पानी र विषादी मिसाइएको खाद्यान्नका कारण नमरुन् । हरेक सूर्योदयसँगै नेपालको काँचुली फेर्ने योजना बुनिन पाइयोस् । हरेक सुर्यास्तसँगै झनै समृद्ध नेपाल नयाँ निर्माण भएको हेर्न पाइयोस् । नेपाल यस्तो बनोस्, जहाँ कुनै नेपाली भोको सुत्न नपरोस् । कुनै नेपालीले छोएको पानी अर्को नेपालीका लागि अछुतो नबनोस् । हरेक नेपालीका लागि मन्दिरको ढोका खुल्ला होस्, घरको आँगन खुल्ला बनोस् ।

हरेक नेपाली शिक्षित बनुन् । हरेक आमाको काखमा स्वस्थ सन्तानले खेल्न पाओस् । कोही नेपाली भोकले छटपटाउन नपरोस्, कुनै नेपाली शीत चुहिने छानामुनि सुत्न नपरोस् । खानका लागि कसैले कसैको अगाडि हात फैलाउन नपरोस् अनि, कुनै नेपालीलाई बेरोजगारीको पीडाले नसताओस् ।

हाम्रा समृद्ध सम्पदामा हामी रमाउन सकौं । हाम्रा पुस्ताहरुका लागि हामीले समृद्ध नेपाल हस्तान्तरण गर्न सकौं । नेपालमा जे छ, त्यसैको सही उपभोग गर्न सकौं । दुई छाक अनि स्वास्थ्य–शिक्षाका लागि कुनै विदेशीको मुख ताक्न नपरोस् । अनि कसैले व्यथामा छटपटाएर मर्न नपरोस् । आखिर यस्तै न त हुन्छ, समृद्ध मुलुक । हो अहिले हामीलाई आकास केलाउनु पर्ने छैन, सागर नाप्नुपर्ने छैन । बस् जनताका आधारभूत आवश्यकताको सम्बोधन भएमात्रै हामी समृद्ध नेपालतर्फ पाइला चाल्न सक्छौं । अब हामीले मागेर होइन रोपेर खानै पर्छ । अरुको मुख ताकेर होइन, यही भूमिमा आफ्ना नंग्रा खियाउनै पर्छ । यसका लागि राज्यले गर्नुपर्ने धेरै काम बाँकी छ । त्यसतर्पm खबरदारी गर्ने प्रयास पनि हाम्रो हुने नै छ । 

हामी आवाज बन्ने छौं, यही अभियानका लागि । हाम्रा कलम चल्ने छन्, नेपालको समृद्धि र उन्नतिका लागि । हामी समाचारका हरेक पाटालाई यहाँहरु समक्ष ल्याउने छौं । कसैका खातिर कसैको आवाजलाई हामी दबाउने छैनौं, कुल्चने छैनौं । हाम्रो चाहना बस्, समृद्ध नेपालको । अनि हुनेछ, हाम्रो पत्रकारिता नेपालको समृद्धिका लागि, उन्नतिका लागि ।