आइपिएल खेल्न युएई पुगेका सन्दीप क्वारेन्टाइनमा

आइपिएल खेल्न युएई पुगेका सन्दीप क्वारेन्टाइनमा

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । उनी ट्रिनिडाड एन्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेपछि उतैबाट मंगलबार युएई पुगेका हुन् । युएई पुगेका सन्दीप अब त्यहाँ पाँच दिनको क्वारेन्टाइनमा बस्नेछन् ।

क्वारेन्टाइनमा रहँदा उनको कोरोना भाइरसको पिसिआर टेस्ट हुनेछ । टेस्ट नेगेटिभ आए मात्र उनले आइपिएल खेल्न पाउनेछन् । यस वर्षको आइपिएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदैछ ।

सन्दीपले लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आइपिएल खेल्दैछन्। आइपिएल आगामी असोज ३ गतेदेखि सुरू हुँदैछ । सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ ।