भर्चुअल छलफलमा सीमित नेपाली फुटबल

भर्चुअल छलफलमा सीमित नेपाली फुटबल

काठमाडौँ - अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै खेलकुद गविविधि भैरहेका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै गएको देखीन्छ  ।

एसियाली मुलुकमा कोरोना महामारीको प्रकोप नदेखिएको भए यति वेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीब्रता दिइरहेको हुन्थ्यो । अभ्यास थाल्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौँ उपत्यका र बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो । तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए । फुटबलमा फर्किन आतुर खेलाडी फिटनेसको विषयमा चिन्तित देखिएका थिए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा यो अन्योलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका पदाधिकारीसँग छलफल गरिरहेकोे बताउँछन् ।

खेलाडी फुटबलमा फर्किन आतुर भए जस्तै एन्फा पनि गतिविधि सञ्चालन गर्न आतुर छ । तर सरकारले लगाएको अंकुश र महामारीले गर्दा अन्योल देखिएको छ । एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पा बताउँछन् ।

युरोपमा कोरोना कहरकै बीच फुटबलसहित खेलकुद गतिविधि सञ्चालनमा आइसक्दा छिमेकी देशमा समेत डब्ल्यूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन् । तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सिमित छन् ।