ब्याडमिन्टनमा अनियमितता : कहाँ गयो उपसमितिको प्रतिवेदन ?

ब्याडमिन्टनमा अनियमितता : कहाँ गयो उपसमितिको प्रतिवेदन ?

काठमाडौँ  - १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दौरान ब्याडमिन्टन खेलका सामाग्री खरिद तथा वितरणमा अनियमितता भएको भन्दै राष्ट्रिय खेलकुद परिषदको चर्को आलोचना भयो । छानबिनका लागि उपसमिति पनि गठन गरियो । तर पटक-पटक उपसमितिको म्याद थपिदा समेत अझै प्रतिवेदन बुझाईएको छैन ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा ब्याडमिन्टनको म्याट र खेलाडीको जुत्तामा अनियमितता भएको विषयमा चौतर्फी आलोचना भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साउन ३० गते राखेपलाई पत्रमार्फत छानबिन गर्न निर्देशन दिएका थिए । त्यस अनुरुप राखेप बोर्ड सदस्य समेत रहेका गोबिन्द भट्टराईको नेतृत्वमा उपसमितिले अध्ययनलाई तीव्रता दिएको थियो । २१ दिन भित्र प्रतिवेदन बुझाउनु भने पनि अझै पूरा भएको छैन । उपसमिति संयोजक भट्टराईले केही बयानहरु लिन बाँकी रहेको भन्दै बाँकी प्रमाण जुटाउने काम अन्तिम चरणमा पुगेको बताउछन । सम्बध पदाधिकारीसँग बयान र कागज पत्र संकलनको काम पूरा भइसकेको उनको भनाई छ ।

२१ दिने समय सिमामा भट्टराई नेतृत्वको ५ सदस्यीय उपसमितिले प्रारम्भिक चरणको गृहकार्य सम्पन्न गरेको छ ।  समय थप भएपछि बयान लिने काम भएको छ । सम्बन्धित क्षेत्रबाट कागजपत्र लिने काम भइरहेको छ । केही व्यक्तिहरुसँग छलफल गरेर मात्रै निष्कर्षमा पुग्न सकिने अवस्था नभएको र बयान लिनुपर्ने व्यक्तिहरु केही उपत्यका बाहिर भएकाले समय लागेको संयोजक भट्टराईको भनाई छ ।

यसका अलावा उपसमितिले सातदोबाटोस्थित राखेप परिसरमा भएको रुख कटानको बारेमा पनि छानविन गरिरहेको छ । यो विषय पनि उपसमिति लाई जिम्मा दिइएको थियो । सफलता पूर्वक सम्पन्न भएको १३ औं साग प्रतियोगितामा देखिएका यस्ता घटनाक्रमले धेरै प्रश्न उब्जाएको छ ।