एउटी निर्मला त गुमायौँ ! अरु हजारौँ निर्मलालाई बचाऔँ

एउटी निर्मला त गुमायौँ ! अरु हजारौँ निर्मलालाई बचाऔँ

काठमाडौँ - निर्मला पन्त । यो नाम नसुन्ने नेपालमा सायदै कोही होला । नेपालमा गरिब र असहायलाई न्याय पाउन कति गाह्रो छ भन्ने उदाहरण हो यो नाम ।

विगत दुई वर्षदेखि निर्मलालाई न्याय दिनुपर्ने आवाज निरन्तर उठेको छ । आज सामाजिक सञ्जालमा फेरि पनि यो आवाज सुनिन्छ । निर्मलालाई न्याय माग्नुअघि हामीले उनको दोषी चिन्न जरुरी छ । निर्मलाको दोषी उसलाई यस्तो घृणित काम गर्ने व्यक्ति मात्र होइन, नेपालको कानून र समाज पनि हो । हामीले यो कुरा बुझेर अब प्रायाश्चित गर्नुपर्छ । 

हो, निर्मलाको दोषीलाई हदैसम्मको सजाय दिए, निर्मलालाई न्याय हुन्छ । यो कुरामा सबैले सकेसम्म दबाब दिइरहेका छौँ । तर के निर्मलाको दोषीलाई सजाय दिएर मात्र उनले न्याय पाउँछिन् त ? के भोलि कोही अन्य  दिदीबहिनीलाई निर्मला बन्नबाट रोक्नु पनि निर्मलालाई न्याय होइन ? के बलात्कार जस्तो जघन्य अपराधलाई जरैदेखि हटाउनु पनि निर्मलालाई न्याय होइन र ? 

निर्मलाको दोषीलाई पक्रिने कानूनी प्रशासनको काम हो । यसमा हामीले दिनसक्ने दबाब मात्र हो । तर बलात्कार जरैदेखि हटाउन भने कानूनसँगै हामीले पनि धेरै ठूलो भूमिका खेल्न सक्छौँ । यो विषयमा माइतीघर मण्डला र फेसबुकमा भएको आक्रोश ठिक छ तर, पर्याप्त छैन । दुई वर्षअघि जब निर्मलाको केस आएको थियो त्यतिवेला पनि आक्रोश यतिकै थियो तर बलात्कारको घटना भने कम भएन । नेपालमा गत वर्ष मात्र १६–१७ सय बलात्कारको घटना रिपोर्ट भएको थियो ।

अझ धेरै त बाहिर आउन पनि सक्दैन । विश्वमा बलात्कारको तथ्यांक हेर्ने हो भने ९० प्रतिशत घटना बाहिर आउन सक्दैन । यो तथ्यांक नेपालमा पनि धेरै हदसम्म लागू हुन्छ । बाहिर देखिएको भन्दा भित्र यो अपराध कैयौँ गुणा डरलाग्दो छ ।

यस्ता घटनालाई कम गर्न हाम्रो यो आक्रोश नेपालको कानूनमा झल्काउनुपर्छ । बलात्कारको घटनामा दोषीलाई अझै कठोरभन्दा कठोर कानून बनाउने र निर्मलाको जस्तो केसमा बलात्कारीलाई फासी हुनुपर्छ । योसँगै नेपालको कानूनी प्रशासन जस्तै नेपाल पुलिस, सीआईबीको यस्तो घटनाको जाँचमा निकै सुधार आउनु आवश्यक छ । उहाँहरूले घटनाको छिटोभन्दा छिटो छानबिन गर्ने, पीडितको पहिचान गोप्य राख्ने र कसैको दबाबमा नपरी आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ ।

अगाडिका कुरा लागू गर्न हामीले सम्बन्धित व्यक्तिलाई अहिले जस्तै दबाब दिइराख्न जरुरी छ । नेपालमा अहिले पनि कति मान्छेलाई महिला हिंसा र बलात्कारका विरुद्ध भएको कानून थाहा छैन । त्यस्ता मन्छेलाई हामीले कानूनको ज्ञान दिनुपर्छ । योसँगै हामीले समाजको सोच पनि परिवर्तन गर्न जरुरी छ । 

समाज हेर्दा एउटा कुरो अचम्मलाग्दो छ । समाजले छोराहरूलाई धेरै छुट दिदा छोरीहरुलाई भने धेरै रोक लगाउछ । अनि जब तिनै छोराबाट छोरीहरु शिकार हुन्छन् तब पनि दोष छोरीलाई नै लगाउन खोजिन्छ । छोराको नियतभन्दा बढी छोरीको चरित्र र इज्जतमाथि प्रश्न उठ्छ । यो कुरालाई समाजबाट हटाउन जागरुकताका कार्यक्रम गर्न सकिन्छ ।

यस्ता कार्यक्रम गर्न युवा जोश लागेनै समाजमा आमूल परिवर्तन ल्याउन सकिन्छ । युवासँगै समाजका पढेलेखेका अन्य व्यक्ति लागे बलात्कार जस्ता अपराधलाई जरैदेखि हटाउन सकिन्छ । 

भविष्यमा यस्ता घटना कम गराउन हामीले अन्य ‘बोल्ड’ निर्णय लिन आवश्यक छ । सर्वप्रथम हामी छोराहरू शुरुमा राम्रो बन्नुपर्छ । हामीले कुनै महिलाप्रति दुव्र्यवहार गर्न त भएन नै कहिँकतै यस्तो भएको देखे त्यसलाई रोक्नुपर्छ । समाजमा यस्ता घटना हुने, व्यक्तिको यौनचाहनाले पनि हो । त्यसलाई नियन्त्रण गर्न नेपालमा वेश्यालय कानूनी रूपमा सञ्चालित हुन जरुरी छ ।

यसले केही हदसम्म यस्ता घटना रोक्न भूमिका खेल्छ । यससँगै विद्यालयमा यौनशिक्षा दिन आवश्यक छ । १८ वर्ष काटेका विद्यार्थीलाई यौनको बारेमा सचेत बनाई त्यसका नकारात्मक सोचबाट टाढा राख्नुपर्छ । परिवार, समाज र विद्यालयले व्यक्तिको सोचमा ठूलो प्रभाव पार्छ । महिला हिंसा र बलात्कार हटाउन उनीहरूबाट ठूलो बहससँगै उदार विचारको विकास हुन आवश्यक छ ।

अगाडिका उपायसँगै हामीले दिदीबहिनीलाई यस्तो घटनाबाट बचाउन आत्मरक्षाको सिप सिकाउन सकिन्छ । ५–१० वर्षको बालबालिकालाई ‘गुड् टच्’, ‘ब्याड टच्’ का बारेमा ज्ञान दिने, १० देखि बढी उमेरका छोरीलाई कराँते, तेक्वान्दोका आत्मरक्षाको लागि चाहिने सीप सिकाउन सकिन्छ । 

निर्मला पन्त प्रकरणमा घटनामा हामी जनताले दिनसक्ने भनेको दबाब मात्र हो । तर अन्य हजारौँ निर्मलालाई बचाउनु हाम्रो जिम्मेवारी हो र त्यसरी नै हामीले निर्मलालाई न्याय दिनसक्छौँ । यी परिवर्तन कुनै एकलैको पहलले नभई सबै मिले मात्र सम्भव छ । यसको सुरुवात जनस्तरमा ठूलो बहसबाट हुन सक्छ । हामीले यी उपाय लागू गर्न सके अन्य दिदीबहिनीले निर्मला पन्तको नियति भोग्नुपर्दैन ।