एक अनुरोध

एक अनुरोध

प्यारी छोरी

तिमी प्रचण्ड सूर्य जस्तो पनि नबन

उस्कै प्रकाशमा बाँच्नेहरुले

उस्लाई हेर्न सक्दैनन्

आँखाहरू जल्नेछन्

सट्टामा

तिमी त्यो अम्बरमा मुस्कुराएर तैरीने

शशी बन

जस्लाई सबैले चुम्न खोज्छन

टोलाएर घण्टौ हेरी रहन्छन

उस्को शितल छाहारीमा

प्रेमिला गनथनमा 

भूल्न चाहान्छन सबै सधै

हो तिमी शशी जस्तै बन

छोरी,

भवन भित्र कलात्मक गमलामा सजिने

चाहँदा पानी पिउन नपाउने

नचाहँदा पानी खिलाउने

भाष्करको किरणसँग पिरती साट्न 

झ्याल तिर लम्किनु पर्ने

ती सुन्दर तर सुगन्धहिन्,गुण रहितको

फूल नबन्नु

बरु,

हरपल हिमाली चिसो हावाले

स्पर्श गरेर जाने

सेतो चाँप जस्तो बन्नु

मझेरीमा सजिने 

बाबारी अनि मठमा रोपिने

तुलसी बन्नु

जस्लाई सबैले सुन्दरतामा होईन

उस्को गुण र सुगन्धमा मोहित भएर

शिरमा सिउरन्छन

अल्फिनले उनेर छातीमा 

भोटो र चोलीको तुनामा झुन्ड्याउछन्

श्रद्दाले हरेक बिहान जल चढाउँछन्

छोरी,

तिमी कपास जस्तै बन्नु

स्वेत स्वच्छ कोमल बन्नु 

ता कि तिमी बाँचेको समाजलाई

तिम्रो कुनै भार नहोस्

तर

जहिल्यै बद्मास झरीहरु बर्सी रहन्छन्

दुषित धुलाका कणहरु बोकेर

काल्कुटको बाछिटाहरु बोकेर

तिमी हरदम यी झरीहरुबाट बची रहनु

नत्र तिमी रुझ्यौ भने

तिमी खुम्चिएर

सानो फोहोरले भरेको 

डाइपरको डल्ला जस्तै बन्नेछौ

तिमी बाँचेको समाजलाई

थेग्नै नसक्ने बोझ बन्नेछौ

छोरी,

त्यो बृक्षलाई हेर

प्रचण्ड रबिको तापमा

कक्ठ्याङ्ग्रीने सिरेटो याममा

लुफ्रुक्कै भिजाउने बर्षातको 

मर्याकमुरूक पार्ने तुफानमा

उ एक्लै सामाना गरेर ठिङ्ग उभिन्छ

ती क्षणलाई सदुपायोग गरी

आफुमा भएका

सुकेका पातहरु,सुकेका हाँगाहरू झारेर

उ तन्दुरुस्त कन्चना बन्छ

अनि

हरेक पन्छीलाई ओत दिन्छ

फेदमा खोपिल्टो बनाएर बस्ने

खरायो, फ्याउरोहरुलाई

सुरक्षित बास दिन्छ

बसन्तमा एक पल मुस्कुराउने

डेन्डोलेईनको बुट्टाहरुलाई

छहारी दिन्छ

हो छोरी तिमी बृक्ष जस्तै हुनु

किन कि

तिम्रो कोमल गोडामा काँडा बिझ्दा

डराई डराई झिकेर

आफ्नो भेष्ट च्यातेर

काम्रो बाधी दिने बाबा

एक दिन तिम्रो साथ हुने छैन

टुकु टुकु हिड्ने पाउ थकित हुँदा

तिमीलाई चौडा ढाडमा बोकेर हिड्ने बाबा

कुनै दिन तिमीले देख्ने छैनौ

तिमी माथी बर्सिने हरेक बज्रपातहरुलाई

तिमी अघी उभिएर

छातीले छेक्ने बाबा

आफै शिथिल हुँदै निर्जिव भएर

डङ्ग्रङग पल्टिएको देख्ने छौ एक दिन्

सधै तिम्रो प्रसंशा सुन्न आतुर यी कानहरु

तिम्रो प्रगती हेर्न आतुर यि आँखाहरु

सदाको लागी बन्द हुने छ एक दिन

एक त्यान्द्रो बल हुँदासम्म

तिम्रो खुशीको कामना गर्ने बाबा

फ्रेममा सजिएर

भित्ताको एक कुनामा झुण्डिने छ एक दिन

प्यारी छोरी,

त्यो बखत तिमी रुनु पर्दैन

डराउनु पर्दैन

बस्,

अहिलेबाट तिमी

जुन जस्तो बन

चाँप,बाबारी र तुलसी जस्तो बन

सेतो कपास जस्तो बन

बृक्ष जस्तो बन

यही छ बाबाको 

एक अनुरोध ।

 अजित रुपाबुङ