असम्भव

असम्भव

धनीराम धनी भएन

धनवीरे धनी भएन

धनजीते अहँ धनी भएन

धनानन्द पनि धनी भएन

फगत नाम मात्रका धनी मनुवाहरू कठै बिचरा

वर्षौँदेखि

धनीरामले बञ्जड पहाड ठुँगिरह्यो

सम्याउन जीवनको सगरमाथा

वर्षौँदेखि धनवीरेले टाउको बोकेर हिँडिरह्यो

पुग्नलाई सपनाको सुनौलो दरबार 

वर्षौँदेखि धनजीतेले सुस्केरा बेचिरहेको छ

फुटेका ओठमा मुस्कान फुलाउने

वर्षौँदेखि धनानन्द पसिनाको ठेला फुटाइरहेको छ

समताको बोधीवृक्ष उमार्न 

तर

धनीराम माटो ठुँग्छ,

आफ्ना लागि नभएर अर्कैका लागि

धनवीरे टाउको बोक्छ, आफ्नो नभएर अर्कैको

धनजीते सुस्केरा बेच्छ आफ्नो नभएर अर्कैको

धनानन्द फुटाउँछ ठेला पसिनाको आफ्ना लागि नभएर अर्कैका लागि

सम्याउँदा सम्याउँदै जीवनको सगरमाथा

धनीराम खिएर सकिसक्यो

तर सम्मिएन  सगरमाथा

पुग्नलाई,

सपनाको सुनौलो दरबार

बोकेर हिँडेको हो धनवीरेले टाउको तर

यात्राको बिचमै कुँज्याइएको हो उसका दुई गोडा

बेच्दा बेच्दै सुस्केराको लहु

गलेको हो धनजीते फत्रक्क

फुटाउँदा फुटाउँदै पसिनाको ठेला

फुटेको हो धनानन्दको मुटु

 

जीवनको सगरमाथा नसम्मिनुमा

धनीरामको दोष छ/दोष छैन

सपनाको सुनौलो दरबार नपुग्नुमा

धनवीरेको दोष छ/दोष छैन 

दुई चिम्टी मुस्कान नफुल्नुमा

धनजीतेको दोष छ/दोष छैन

उमार्न नसक्नुमा समताको बोधीवृक्ष

धनानन्दको दोष छ/दोष छैन 

अँ !

यता सुन्नुस् त

दृष्टिहीनहरूको देशमा पो चश्मा बेच्नु पर्छ

दृष्टिविहीनहरूको देशमा हैन

ताकि बेचिएको चश्माले, देख्न सकुन्

धनीरामको समस्याको सगरमाथा

धनजीतेको सुखको सपना

धनवीरेको फुल्न नसकेको मुस्कान

धनानन्दको धपेडी

दुर्भाग्य, यो छ कि

दृष्टि भएका दृष्टिहीनहरूले

चुसेका हुन क्रमशः

धनीरामको उर्जा, धनजीतेको पौरख, धनवीरेको लगन र धनानन्दको धैर्य

चुसिए धनीरामहरू,

लुटिए धनजीतेहरू ,

चुटीए धनवीरेहरू,

धुतिए धनानन्दहरू

त्यसैले,

धनीराम धनी भएन

धनवीरे धनी भएन

धनजीते अहँ धनी भएन

धनानन्द पनि धनी भएन

फगत नामका मात्र धनी मनुवाहरू कठै बिचरा

चट्टानको हृदय पुलकित हुन्छ र ?

असम्भव

मदन दुलाल