कोभिड - १९ को संकट व्यवस्थापनमा हाम्रो चिन्तन र प्रवृत्ति

कोभिड - १९ को संकट व्यवस्थापनमा हाम्रो चिन्तन र प्रवृत्ति

काठमाडौँ  - कोभिड - १९ को महामारीले यतिखेर सिंगै विश्वको लय बिगारिदिएको छ । विश्वका सर्वाधिक विकसित देशहरुलाई समेत यसको प्रभाव न्यूनीकरण गर्न हम्मे हम्मे परेको देखिन्छ । त्यस्ता देशहरुले स्वास्थ्य क्षेत्रमा अत्यन्त ठूलो लगानी गरेको र जनतालाई उत्कृष्ट सेवा प्रवाह गरिरहेको बताई रहँदा आकस्मिक रुपमा आई परेको यो विपत्मा भने उनीहरुबाट भएको भनिएको स्वास्थ्य व्यवस्थापनको कमजोरी छताछुल्ल भएर पोखिएको छ । सामाजिक सुरक्षामा अब्बल मानिएका देशहरुको सामाजिक सुरक्षा प्रणाली प्रति पनि यतिखेर प्रश्न चिन्ह खडा भएको छ । पूरै विश्व हायल कायल हुनु परेको यस विषम परिस्थितिमा नेपाल जस्तो अविकसित मुलुकले सहजै पार पाउन नसक्ने यथार्थतालाई अस्वाभाविक मान्न सकिँदैन । 

हाम्रो स्वास्थ्य क्षेत्र पहिले देखि नै अत्यन्त कमजोर अवस्थाबाट गुज्रँदै आएको हो । उच्च शिक्षा हासिल गरेको जनशक्तिको उत्पादन गर्ने, तर उनीहरुलाई देशभित्रै अड्याएर राख्न नसक्ने समस्याले हामीलाई लामो समयदेखि नै गाँजेको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादनलाई व्यापार व्यवसाय जस्तो आय आर्जनको साधनका रुपमा हेर्ने हाम्रो दृष्टिकोणमै खोट रहेको छ । जहाँ विश्वविद्यालयहरुलाई फगत शैक्षिक प्रमाणपत्र वितरण गर्ने थलो मात्र बनाइन्छ, जहाँ शिक्षालाई व्यापारका रुपमा बुझिन्छ, जहाँ चिकित्सक उत्पादन गर्नुलाई नै स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको मानकका रुपमा लिइन्छ, सम्पूर्ण स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व चिकित्सकले मात्र गरेको ठानिन्छ, जनस्वास्थ्यका अन्य विधाहरु आलंकारिक मात्र हुन् भन्ने साँघुरो सोच राखिन्छ र तदनुरुप नीति निर्माण गरिन्छ, त्यस्तो देशको समग्र सुधारको कल्पना केबल कोरा कल्पना बन्न पुग्छ । कोरोनाको यस कहरमा हामीले हाम्रा त्यस्तै नीतिगत, सोचगत र व्यवहारगत एकांगीपनबाट सिर्जित भयावहतालाई भोगिरहेका छौँ । 

यस बीचमा हामी कहाँ कहाँ चुक्यौँ, सग्लो रुपमा कसैले मूल्यांकन गरेको पाइदैन । नीति निर्माणको सर्वोच्च थलो संसदमा समेत यस्ता विषय प्राथमिकतामा पर्दैनन् । जनतालाई केही समयसम्म झुक्याउने चालका रुपमा संसदभित्र संकल्प प्रस्तावहरु पेश हुन्छन्, तर त्यसमा छलफल नै हुँदैन । बन्दाबन्दीकै बीचमा जनता सडकमा उत्रने अवस्था किन बन्यो, उनीहरुका माग के थिए भन्ने मात्र सोचिदिएको भए पनि समस्याको निकास निकाल्न सहज हुने थियो । नेपालमा पहिलो संक्रमित भेटिए पछि आजसम्मको अबधिमा हामीले के के गर्यौँ र कहाँ कहाँ कमजोरी रह्यो भन्ने लेखाजोखा गर्दा मूलतः चारवटा विषयलाई केन्द्रविन्दु बनाएर छलफल गर्न सकिने देखिन्छ ।  

क्वारेन्टाइन, आइसोलेसन र आधारभूत स्वास्थ्य सामग्रीको व्यवस्थापन तथा अत्यावश्यक उपकरण सहितको स्वास्थ्य संस्थाको छनौटः चिनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभरी आतंक फिँजाउँदासम्म पनि नेपालमा त्यसको असर देखिएको थिएन । माघ ९ मा पहिलो कोरोना संक्रमित भेटिए पछि हामीलाई पनि उद्वेलित बनायो । त्यही मेसोमा क्वारेन्टाइन र आइसोलेसन निर्माणलाई तिब्रता त दियौँ, तर तिनै क्वारेन्टाइन हाम्रा लागि संक्रमण फैलाउने स्थलका रुपमा परिणत भए । क्वारेन्टाइन भनेको मानव वस्तीभन्दा केही टाढा मानिसहरुलाई ओत दिएर राख्न सकिने ठाउँ हो भन्ने मात्र हाम्रो बुझाई रह्यो । विश्व स्वास्थ्य संगठनले क्वारेन्टाइन सहित कोरोना भाइरससँग जुध्नका लागि गर्नु पर्ने प्रबन्ध सहितको मापदण्ड जारी गरेको कुरा हाम्रो जानकारीमा पनि अवश्य थियो, जनस्वास्थ्य र सामाजिक व्यवहार, उपचार प्रबन्ध र व्यवस्थापन तथा अनुगमन, निरीक्षण समेतका महत्वपूर्ण विषयहरु समावेश हामीले पनि  मापदण्ड जारी नगरेका होइनौं, तर त्यसको कार्यान्वयनमा कत्ति पनि इमान्दारिता देखिएन । 

विदेशमा रहेका नेपालीहरुका निमित्त फागुन ३ मा पहिलो उद्धार उडान गरी चिनबाट ल्याइएका व्यक्तिहरुका लागि बनाइएको पहिलो क्वारेन्टाइन र त्यसको व्यवस्थापन हाम्रा सन्दर्भमा उत्कृष्ट नै थियो । त्यो अनुभव हासिल भैसकेपछिका क्वारेन्टाइन निर्माणमा भने हामीले त्यसलाई अनुशरण गर्न सकेनौं । क्वारेन्टाइन नामको भौतिक संरचनाहरु त बनाइयो, त्यसमा क्वारेन्टाइन नामको साइनवोर्ड पनि झुण्ड्यायौँ, तर त्यहाँ न त खानेपानी, न त शौचालय, न त सुरक्षा प्रबन्ध, न त भौतिक दूरी, न त स्वास्थ्यकर्मीको उपस्थिति, न त स्वास्थ्य सामग्रीको जोहो, न त स्वास्थ्य परीक्षणको व्यवस्था नै गर्यौं । फलस्वरुप क्वारेन्टाइनभित्रै आत्महत्या, बलात्कार, यौन दुर्व्यवहार भएका घटनाहरु सुनिए । क्वारेन्टाइनभित्रै विरामी परी औषधि उपचार नपाएर मृत्युवरण गर्नु परेको पनि देखियो । क्वारेन्टाइनमा राखिएका व्यक्तिको महिनौंसम्म स्वास्थ्य परीक्षण नगरिएको र क्वारेन्टाइनभित्र बस्ने वातावरण नरहेको भनी क्वारेन्टाइनबाट भाग्ने अवस्था समेत बन्यो । ढिलो गरी संक्रमण फैलिएको कारणबाट हामीले तयारीका लागि पाएको पर्याप्त समयको सदुपयोग गर्नबाट हामी चुक्यौं ।  

त्यसैगरी विदेशबाट आउने व्यक्तिहरुलाई कुन देशबाट आएको भन्ने आधारमा विभेद गरिएको पनि प्रष्ट रुपमा देखियो । स्वास्थ्य क्षेत्रमा यस्तो विभेदलाई कुनै पनि कोणबाट औचित्यपूर्ण मान्न सकिँदैन । नेपालको वर्तमान संविधानले नेपाललाई लोककल्याणकारी राज्यका रुपमा राखेको छ, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, सामाजिक न्याय र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । तर अहिलेको संकटका घडीमा यो संवैधानिक प्रबन्धलाई हामीले हेक्का राख्यौं वा पूरै बेवास्ता गर्यौं रु हामीले गरेका संवैधानिक बाचाहरु एकैदिन र एकैछिनमा पूरा गर्न सकिँदैन, तर जे जति सकिन्छ, ती सबैका लागि समान रुपमा उपलब्ध हुनु पर्दछ । मानवीय मूल्य मान्यता प्रति कसैले पनि खेलाँची गर्नु हुँदैन, मानवोचित व्यवहार पाउने व्यक्तिको अधिकार हो, यसको सम्मान सबैले गर्नु पर्दछ ।     

स्वास्थ्य क्षेत्रको वहुआयामिकताः हामी स्वास्थ्य शिक्षा भन्नाले चिकित्सकसँग मात्र सम्बन्धित रहेर बुझ्न अभ्यस्त भै सकेका छौं । त्यसैको प्रभाव स्वरुप स्वास्थ्य क्षेत्रको जनशक्ति भन्ने वित्तिकै डाक्टर र नर्सलाई मात्र चिन्ने गरिन्छ । हामीहरु यसको वहुआयामिकताप्रति कहिल्यै पनि संवेदनशील भएनौं । अझ स्वास्थ्य अनुसन्धानको पाटो सदैब ओझेलमा पर्दै आयो । देशमा विशिष्ठ ज्ञान र क्षमता भएका जनस्वास्थ्यविद्हरुको खाँचो छैन, जनस्वास्थ्य क्षेत्रमा क्रियाशील हुने अठोटका साथ थुप्रै युवाहरु स्वास्थ्य क्षेत्रका विभिन्न विधामा अध्ययनरत छन् । तर ती सबैलाई एकसाथ हिँडाउने खालको नीति बन्न सकेन, उनीहरुका सुझावलाई मनन गर्ने, स्विकार गर्ने र उत्प्रेरित गर्ने कोशिस पनि गरिएन । त्यसैले एकातिर स्वास्थ्य शिक्षाको वहुआयामिकतालाई स्विकार गर्न नसक्दाको परिणाम र अर्को तर्फ जनस्वास्थ्य क्षेत्रका अब्बल जनशक्तिको उपेक्षाले पनि हामीलाई कमजोर बनायो । यो प्रवृत्ति समग्र स्वास्थ्य क्षेत्रको सुधारमा तगारोका रुपमा रह्यो ।   

सचेतनामूलक अभियान : कोरोना कहरको यो कठिन परिस्थितिमा राज्य संयन्त्रले जनतालाई पनि सँगसँगै लिएर हिँड्न सक्नु पर्ने हुन्छ । यस्तो महामारीका बेलामा राज्यका तर्फबाट गरिएका घोषणा र आह्वानप्रति जनताले विश्वास गर्नु पर्दछ र त्यसको पालनाप्रति इमान्दार हुनै पर्दछ । तर त्यस प्रति जनताको निष्पृहता र उनीहरुले प्रदर्शन गर्ने उपेक्षाभावले यस्ता कठिनाईहरुसँग जुध्ने सामर्थ्य डगमगाउँछ । त्यसैले यस्ता महामारीका समयमा राज्य संयन्त्रहरु ज्यादै संवेदनशील, इमान्दार र जनमैत्री देखिनु पर्दछ । राज्य संयन्त्रहरुमध्ये कसले के गर्ने र कसले के बोल्ने भन्ने कुराको स्पष्ट निर्देशिका बन्नु पर्दछ र त्यसमा विषयविज्ञताका आधारमा कार्यविभाजन हुनु पर्दछ । विषयविज्ञताकै आधारमा सार्वजनिक अभिव्यक्ति आउनु पर्दछ । गोपनियता कायम गरिनु पर्ने बाहेकका सम्पूर्ण काम कारबाहीहरु पारदर्शी हुनु पर्दछ । यसरी राज्य संयन्त्र इमान्दार रहेको, पारदर्शी रहेको र क्षमता अनुसारको सम्पूर्ण प्रयत्नहरु भई रहेको सन्देश प्रवाह हुने वित्तिकै जनताको विश्वास जागृत हुन्छ र राज्यका हरेक घोषणा र आह्वानप्रति जनताको स्वतःस्फूर्त सहभागिता रहन्छ । अहिलेको विपत्तिमा प्रारम्भिक चरणमा जनता अन्यन्त इमान्दार बने, राज्यले  बन्दाबन्दीको घोषणा गर्यो, उनीहरुले सहर्ष स्विकार गरे । तर पछिल्लो चरणमा आइपुग्दा जनता अवज्ञा गर्ने अवस्थामा पुगेको देखियो । त्यसलाई जनताले केही संकेत गरिरहेको रुपमा बुझ्नु पर्दछ, कडा नियम बनाएर वा कारबाही र सजायको त्रास देखाउने तिर नभई उनीहरुका चासो र सरोकारलाई सम्वोधन गर्ने तिर राज्यको कदम अघि बढ्नु पर्दछ । 

यस्ता महामारीको बेलामा जनतालाई चेतना बाँड्ने कुरामा के कस्तो जनशक्ति परिचालन गर्ने भन्ने कुराले पनि उत्तिकै महत्व राख्दछ । यसमा कुनै एक क्षेत्रको जनशक्तिमा भर पर्नु भन्दा बहुआयामिक समूह बनाएर परिचालन गर्नु वाञ्छनीय हुन्छ । जनस्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, मनोसामाजिक कार्यकर्ता जस्ता विभिन्न क्षेत्रसम्बद्ध व्यक्तिहरु सम्मिलित समूह बनाएर परिचालन गर्न सकिएमा जनताको स्वास्थ्य समस्या, उनीहरुले दैनन्दिन भोगेका अन्य समस्याहरुका साथै उनीहरुको मनोसामाजिक समस्या समाधानमा एकिकृत प्रयास गर्न सहज हुन्छ । अनि मात्र त्यस्ता अभियानप्रति जनता विश्वस्त हुने र उनीहरुले हार्दिकतापूर्वक साथ दिने वातावरणको निर्माण हुन्छ ।        

अध्ययन अनुसन्धान : कोरोना भाइरसको प्रकृति ठाउँ पिच्छे फरक देखिएको छ, अर्थात् यसले रुप फेरिरहेको छ भनिन्छ । तर हामी कहिले नेपालीहरुमा भाइरससँग लड्न सक्ने क्षमता ज्यादा छ भनेर मक्ख पर्ने गर्छौं । कहिले समुदायमा संक्रमण फैलिएकै छैन भनेर उत्ताउलो व्यवहार प्रदर्शन गर्दछौं । कहिले परीक्षणको दायरा घटेको कारणबाट संक्रमितको संख्या कम भएको अवस्थालाई हेरेर साँच्चिकै समस्यामुक्त हुन लागेको ठानेर ढुक्क हुन खोज्छौं । कहिले संक्रमणको तुलनामा संक्रमणमुक्त भएको संख्या धेरै देखेर हौसिन्छौं । कहिले मृत्युदर कम भएको आंकडामा रमाएर बस्छौं । कहिले परीक्षणको दायरा घटाएर संक्रमणको दर नै घट्दै गएको निष्कर्ष निकालेर खुशी हुन्छौं । यी र यस्ता यावत् चिन्तनशैलीले के देखाउँछ भने हामी कोरोना भाइरसको प्रकृति र प्रवृत्तिका बारेमा बुझ्ने कोशिसमा होइन, नबुझिकन बुझेको अभिनय गर्दैर्छौं, अर्थात् अध्ययन अनुसन्धान बिना नै सतही धारणा बनाएर जिम्मेवारीबाट भाग्ने कोशिस गरिरहेका छौं । यस बीचमा राष्ट्रिय अन्तर्राष्ट्रिय तहमा थुप्रै अध्ययन अनुसन्धानहरु भएका छन्, तर हाम्रो अहिलेको अवस्थालाई नियाल्दा त्यस्ता अध्ययन अनुसन्धानले देखाएका संकेतहरु बुझ्ने भन्दा पनि आफू अनुकूलका कथनलाई आधार बनाएर हिँड्न खोजेको अनुभूति हुन्छ । अर्को तर्फ अध्ययन अनुसन्धानको विषय हाम्रो प्राथमिकतामा नै परेनन् । विश्वविद्यालयहरुका अनुसन्धानकेन्द्रहरु निष्कृय बन्दै गए, कसैले व्यक्तिगत रुपमा सक्रियता देखाएर गरिएका अध्ययन अनुसन्धानलाई पनि उत्प्रेरित गर्न खोजिएन । यस्तो उल्टो बाटो हिँड्दै जाने हो भने कालान्तरमा हामो स्वास्थ्य क्षेत्र अझ कमजोर अवस्थामा पुग्छ ।     

अन्त्यमा, देशको राजधानीका रहेको काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या न्यून देखाउन सकेमा सफल व्यवस्थापनको दृष्टान्त प्रस्तुत गर्न सकिने मोहले पनि हामीलाई केही समयसम्म गाँज्यो । हामी लामो समयसम्म त्यसैमा रमाएर पनि बस्यौं । तर एकातर्फ कोरोना भाइरस संक्रमण हावाबाट पनि फैलन सक्छ भन्ने अध्ययनले देखाएको कुरा सार्वजनिक भएको र अर्कोतर्फ काठमाडौँ उपत्यकामा दिनहूँ संक्रमितहरुको संख्या थपिँदै गएर अबको ”हटस्पट” उपत्यका बन्ने खतरा बढ्दै गएको भनी जनस्वास्थ्यविद्हरु चिन्ता व्यक्त गर्न थाले पछि हामी झस्किएका छौं । तथापि अब चाल्नु पर्ने कदमहरु के हुन् रु अबको रणनीति के हुनु पर्दछ रु समुदायमा संक्रमण फैलिन नदिन के के उपायहरु अवलम्वन गर्नु पर्दछ रु भन्ने जस्ता तत्कालीन विषय र आउँदा दिनहरुमा जनताका स्वास्थ्य समस्याहरुको समाधान गरी जुनसुकै महामारीको अवस्थामा पनि त्यसको असर र प्रभाव कम बनाउन सक्ने अवस्थामा पुर्याउन के कस्तो स्वास्थ्य शिक्षा नीति आवश्यक पर्दछ रु के कस्ता जनशक्ति उत्पादन गर्नु पर्दछ र स्वास्थ्य क्षेत्रको वहआयामिकतालाई कसरी सम्वोधन गरिनु पर्दछ रु के कस्ता पूर्वाधारहरु खडा गरिनु पर्दछ रु भन्ने जस्ता दीर्घकालीन विषयमा आजैदेखि अध्ययन, अनुसन्धान गर्ने र त्यसबाट निस्कने निष्कर्षलाई आधार बनाएर योजनाहरु बनाउनुका साथै बनेका योजनाहरुको इमान्दार कार्यान्वयन गर्ने हाम्रो अहिलेको प्राथमिकता बन्नु पर्दछ ।