राजनीतिमा युवाको पहुँच नै कम, अवसर पाएकाले पनि देखाउन सकेनन् चमत्कार

राजनीतिमा युवाको पहुँच नै कम, अवसर पाएकाले पनि देखाउन सकेनन् चमत्कार

काठमाडौँ  - नेपालमा राज्य सञ्चालनका महत्त्वपूर्ण निकायमा युवा पुस्ताको प्रभावकारी भूमिका देखिएको छैन । कतिपय स्थानमा अवसर नपाएर युवा पछि परेका छन् भने कतिपय सन्दर्भमा अवसरकासदुपयोग नहुँदा युवाप्रतिको आशा निराशामा परिणत भएको छ ।

बर्सेनि तामझाम र भव्यताका साथ पाँचतारे होटलमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । युवालाई देशको कर्णधार र परिवर्तनको संवाहक मानिएकाले उनीहरूले हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने टिप्पणी पनि भइरहन्छन् । तर, राज्य सञ्चालन गर्ने महत्वपूर्ण निकायमा भने युवाको सक्रियता कमै मात्र देखिन्छ । युवाबाटै मुलुकको गति परिवर्तन हुन सम्भव भएको भन्दै प्रधानमन्त्री केपी ओली हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न युवालाई आग्रह गर्छन् ।

त्यसो त नेपालको राजनीतिक वृत्तमा युवापुस्ताको पहुँच निकै कम मात्रै देखिन्छ । उमेर पुगेका पुस्ता अन्तिम कालखण्डमा पुग्दा पनिसक्रिय रहेका कारण युवाले अवसर नपाएको टिप्पणी पनि वेलावेला चुलिइरहन्छ । तर, नेतृत्वमै पुगेका युवाले पनि अपेक्षीकृत काम गर्न नसक्दा भने उनीहरूप्रतिको आशा निराशामा परिणत हुनथालेको छ । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दलका युवा नेतृत्वको कार्यशैली सन्तोषजनक हुन नसकेको नेता नै स्वीकार गर्छन् ।

नेपालमा रोजगारीको कमीका कारण भएका युवा पनि विदेशमा श्रम बेच्न बाध्य देखिएका छन् भने स्वदेशमै रहेकाहरुको काम पनि सन्तोषजनक देखिएको छैन । राजनीति मात्रै नभएर हरेक क्षेत्रमा युवाहरुको हस्तक्षेपकारी र प्रभावकारी भूमिका नदेखिँदा समृद्ध नेपाल र सुखी नेपालीको नारा कसरी सार्थक होला भन्ने आशंका बढेको छ ।