काठमाडौँ उपत्यकामा आइतबारदेखि 'सटडाउन ' गर्ने

काठमाडौँ उपत्यकामा आइतबारदेखि  'सटडाउन ' गर्ने

काठमाडौँ - कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुर 'सटडाउन' गर्ने भएको छ । उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् ।

कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा 'सटडाउन' को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन्­ । 

नेपालमा लकडाउन हटेसँगै कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।  लकडाउन हुँदा नियन्त्रणमा रहेको संक्रमण अहिले समुदाय तहमा फैलिसकेको बताइएको छ । 

संक्रमणको स्थिति भयवह बन्दै गर्दा देशका १४ जिल्लामा कतै पूरै त कतै निश्चित क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको छ । लकडाउन हट्नुलाई सर्वसाधारणले संक्रमणको जोखिम घटेको रूपमा बुझेकाले समस्या भएको सरकारको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत जोखिम बढ्दै गएकाले विशेषगरी १२ वर्षमुनिका र ६० वर्ष माथिकालाई घर बाहिर ननिस्कन आग्रह गर्छन् ।

तर सर्वसाधारण भने बेपर्वाहसाथ शहरका सडक चोक गल्ली हिँडिरहेका छन् । बालबालिकादेखि वृद्धवृद्धासमेत यसरी लापरवाह रूपमा आवतजावत गरिरहेका छन् । बाहिर निस्किनु रहर नभएको उनीहरू बताउँछन् ।