शहरमा कौसीखेतीको महत्त्व र आवश्यकता

शहरमा कौसीखेतीको महत्त्व र आवश्यकता

नेपाल एक कृषिप्रधान देश  हो । हाम्रो देश हिमाल पहाड र तराई गरी हरेक किसिमका भौगोलिक वातावरणहरूले भरिपूर्ण रहेको छ । अझ जलस्रोतको दोस्रो धनी देशमा समेत नेपालले आफ्नो स्थान ओगटेर राखेको छ । यी सम्पूर्ण कुराहरू हामीले बच्चैदेखि पढी आएको र त्यो भन्दा पनि नेपाल र नेपाली जनजीवनसँग सम्बन्धित प्रत्येक निबन्ध, लेख वा परीक्षामा सोधिएका प्रश्नहरूमा पनि बढाइचढाइ गरेर वर्णन गर्दै आएका कुराहरू हुन् । म एक कृषि क्षेत्रको विद्यार्थी हुँ । अझ भन्नुपर्दा तीन चार हजार विद्यार्थीहरूसँग प्रतिस्पर्धा गरेर लमजुङ क्याम्पसमा नाम निकाल्न सफल भई देशकै गौरवशाली कृषि क्याम्पसमा पढ्ने विद्यार्थी । हाम्रो क्याम्पस एक सरकारी क्याम्पस भएको हुनाले राजनीतिक दलहरूको कार्यक्रमहरू र अन्य कार्यक्रमहरूमा आउनुभएका देशका शीर्ष नेताहरू र अन्य सरकारी तथा गैरसरकारी क्षेत्रका दिग्गजहरूको भाषण सुन्दा त हामी नै यस देशमा कृषि क्रान्ति ल्याएर देशको मुहार फेर्नका लागि तयार हुँदै गरेका व्यक्तिहरू भएको जस्तो अनुभव हुन्थ्यो ।

त्यो सबै कुराहरू हुँदाहुँदै पनि मेरो भित्री मनलाई चाहिँ म कृषि क्रान्ति त परको कुरा आफ्नै परिवारमा पनि परिवर्तन ल्याउन नसक्ने व्यक्ति झैँ लाग्थ्यो । जसरी प्रत्येक युवाहरूलाई सरकारी कार्यालयमा  आफ्नो आँखा अगाडि नै भइरहेको भ्रष्टाचारविरुद्ध केही गर्न नसक्दा आफ्नो मान्छेलाई सिधै कोठा भित्र लगेर काम गराइ दिने कर्मचारीको  व्यवहार देख्दादेख्दै केही गर्न नसक्दा देशका नेताहरूले दिएको खोक्रो  आश्वासन र पूरा नै गर्न नसकिने प्रतिबद्धतामा समेत रमाइरहेको समाजलाई केही गर्न नसक्दा आफ्नै वरिपरी समुदायमा आफूलाई कत्ति पनि चित्त नबुझ्ने परम्पराहरू,विभेदहरू र अन्यायहरूको विरुद्धमा केही गर्न नसक्दा र जसरी आफू  ‘भविष्यको कर्णधार र देशको मेरुदण्ड’ भनिएपनि केही गर्न नसक्ने लाचार युवा जस्तो लाग्छ । मलाई पनि प्रत्येक दिन मनमा एक किसिमको लाचारपन बोध हुन्छ । 

प्रत्येक पटक काठमाडौँ देखि लमजुङसम्मको यात्रामा बाँझो जमिनहरू देख्दा र प्रत्येक दिन लमजुङ जस्तो पहाडी र एक किसिमले गाउँले परिबेशमा बसेर पनि आयातित तरकारीहरू जुन पसलमा आइपुग्दा नै ओइलाएको र बासि हुन्छ तेस्तो तरकारी किनेर खानु पर्दा मलाई ठूलो लाचारपन महशुस हुन्थ्यो । अझै पनि हाम्रो देशको अर्थतन्त्र कृषिमा नै निर्भर रहेको छ र अझै पनि देशभित्रका जनताहरूको प्रमुख पेशा कृषि नै हो तर देशको आयश्रोत भने देश भरिका आधाभन्दा बढी जनता कृषि क्षेत्रमा लागे पनि रेमिटेन्स प्रधान भइसकेको छ । अरु देशहरूमा गई आफ्नो रगत पसिना बगाएर पठाएको पैसामा मोजमस्ती गर्ने धेरैको बानी परिसकेको छ । आफ्नो घर जल्न थाल्दा पनि न्यानो आइरहेको छ भनेर आगो ताप्ने किसिमको सोचाइ भएको मानिस जस्तै अहिले धेरै नेपालीको सोच भएको देख्दा मलाई दिक्क लागेर आउँछ र त्यसमाथि पनि खेती किसानी गर्ने भनेको सबैभन्दा निम्नवर्गीय र गरिब जनताहरूको पेशा भएको जस्तो समाजको धारणा बसिसकेको महसुस भएको छ । घरमा भएको करेसाबारी र अलिकति जमिनमा पनि दुई चारथरी तरकारी लगाउनुको साटो दुबो लगाएर गार्डन बनाउने चलन आइसकेको छ ।  

मलाई कृषिक्षेत्रमा केही गर्नुपछ भन्ने सोच रही रहेको भए पनि पनि के गर्न सकिन्छ त भन्ने कुरा बुझ्न सकेको थिइनँ । त्यसै बीचमा भारतद्वारा नेपाललाई नाकाबन्दी लगाइयो । हामी नेपालीको विशेषता नै भन्नुपर्ला म पनि बाँकी सबै जस्तो आफ्नो देशको ठूलो पौरख राख्ने र राष्ट्रवादका कुराहरूमा र देशको इतिहासमा घमण्ड गर्ने मानिस हुँ । यतिकै फालिएको बीउहरूबाट पनि सजिलै बोट पलाएर आउने हावापानी भएको देशमा बसेर पनि अर्काको राष्ट्रले नपठाएसम्म तरकारी पनि खान नपाउने अवस्था आएको थियो । यसले मलाई हामी परनिर्भर र भिकारी भएको जस्तो भएको महशुस भयो । त्यही अवस्थामा मैले के पनि महशुस गरेँ भन्दा आफ्नो भएको अलिकती जमिनमा दुइ चार बोट फर्सी, घिराँैला, करेला जस्ता तरकारी र सागपात लगाउनेहरूले बरु आफ्नो दैनिक खाद्यान्नका लागि आवश्यक तरकारी जोहो गर्न सकेका थिए तर आफूले आफूलाई निकै आधुनिक र विलासी देखाउनुपर्ने मानसिकता भएका गार्डेन बालाहरू भने दुबो हेर्दै दाल र भात मात्रै खान बाध्य भएका थिए । 

त्यस घटनाले मलाई के गर्न सकिन्छ त भन्ने मार्गदर्शन ग¥र्यो अरु धेरै केही गर्न नसके पनि आफ्नो कौसीमा,करेसामा र आगन वरिपरी स्वच्छ,ताजा र विषादीमुक्त आर्गनिक तरकारी,सागसब्जी र मसाला बालीको खेती प्रविधि तालीम मार्फत सिकाइ परिवारहरूलाई आफ्नो दैनिक उपभोग्य तरकारीबालीमा आत्मनिर्भर बनाउने विचार आयो । त्यसको सम्भावनाको अनुसन्धान गर्दैगर्दा मैले विचार गरेंकी आखिर कसरी मानिसहरू खेतीप्रति आकर्षित होलान् त ? यत्रो राज्यले नै सबैलाई कृषिमा अग्रसर गराउँदै गर्दा त कसैले वास्ता नगरेको विषय मैले भनेर गर्लान त जस्तो लाग्यो गोजीमा पैसा बोकेर गएपछि जे मनलाग्यो त्यही किनेर ल्याउन पाइन्छ,किन उत्पादन गर्नुपर्यो बेक्कार झंझट भन्ने धेरैको मानसिकता नै मैले सोचेको कामका लागि सबैभन्दा ठूलो चुनौती थियो । केहि समयको अध्ययन र यस बिषयको अनुसन्धान पछि मैले दुई ओटा समाधानका बिषय तयार पारेँ ।  

धेरै नेपालीहरूलाई बजारमा उपलब्ध तयारी प्याकेटका खानेकुराहरू र होटल रेष्टुरेटको खानेकुरा स्वास्थ्यबर्धक नहुने ख्याल रहेको छ र सकभर आफँैले घरमा बनाएर खाँदा स्वास्थ भइन्छ भन्ने मानसिकता रहेको छ । त्यो भनेको खानेकुरामा ध्यान दिएर स्वस्थ हुनुपर्छ भन्ने सोचाई रहेको हो । यो नै मेरो पहिलो समाधानको विषय रह्यो यति धेरै सजक हुन खोज्ने नेपालीहरूलाई आफुले ल्याएको तरकारी मार्फत कति बिषादी सेवन गरिरहेको छु भन्ने चाहिँ ख्याल भएको हुँदैन् । मलेसिया, चीन, भारत र बंगलादेश लगायत कति टाढादेखि आइपुगेको तरकारी यहाँसम्म आइपुग्न कति विषादी, कति कुहिनबाट जोगाउने औषधी र अनेकौँ  रसायन प्रयोग हुन्छ भन्ने सोचेका हुँदैनन् । 

 

क्यान्सर, दम, पेटका समस्या, पाचन प्रक्रियाका समस्या, मस्तिष्कमा हुने समस्या पहिलाभन्दा अहिले उही खानपानमा पनि किन बढी भएको छ भन्ने धेरैलाई लागिरहेको हुन्छ तर ति सारा समस्या निम्त्याउने विषादी नियमित रुपमा हरेक छाकमा सेवन गरेको महसुस भने भएको हुँदैन । यस समस्याको अन्त्य गर्न अनिबार्य रुपमा प्रांगरिक खेती गरी आफ्नो स्वास्थ सुधार गर्ने अवसरको बारेमा अवगत गराउने सोच राखेँ । मेरो दोस्रो प्राथमिकता यसबाट हुने आर्थिक फाइदा देखाउने रहेको थियो । दुई  पाँच रुपैँया सस्तो तरकारी खोज्न बानी परको समाजलाई दैनिक कम्तिमा दुई सय रुपँैयाको र बार्षिक झन्डै लाख रुपैँया बराबरको खर्च तरकारीमा हुने गरेको अवगत गराउँदा केहि ध्यान आकर्षण गर्न सकिने भयो । प्रत्येक वर्ष नर्सरीमा गएर हजाराँैको फूलको बिरुवा लगाएर गार्डेन बनाउँदाको खर्च र त्यसमाथि अझै कतिको बिषादीले गर्दा स्वास्थ बिग्रिएर उपचार खर्च, कतिलाई ब्यायाम र कसरत गर्न जिम खाना र मर्निङ वाक गर्दा चाहिने सामग्रीको खर्च आदिबारे अवगत गराउनु जरुरी थियो । यी सबै समस्यालाई वर्षको बढिमा बिस तिस हजार लगानी गरेर आफ्नै करेसाबारी त्यो पनि नभए कौसी , बरण्डा आदिमा आफूलाई आवश्यक मौसमी बाली, तरकारी र मसलाहरूको उत्पादन पूर्णरूपमा  प्रांगारिक र स्वस्थ हिसाबमा गर्न मिल्ने सम्भावनाको अवगत गराउने विचार गरे । यसरी नै करेसा, कौसी र बरण्डामा खेती गरी वार्षिक लाखौँ आम्दानी लिने किसानको उदाहरण पनि प्रेरणाको श्रोतको रुपमा प्रयोग गर्न सकिने भयो ।

त्यसपछि आफ्नो केही साथीहरूको समूह बनाए समुदायका मानिसहरूलाई तालिम र प्रशिक्षण गर्ने निधो गरे । सकेसम्म वार्षिक रुपमा उपयोग नै नभई फ्रिज भएको वा दुरुप्रयोग भई सकिएको स्थानीय तह जस्तै नगरपालिका र वडाको बजेटका लागि प्रपोजल (कार्ययोजना) पेस गरेर महिला समूह र आमा समुहहरूलाई केन्द्रित गरेर काम गर्ने निर्णय ग¥यौँ । यसै सोचलाई वास्तविकतामा रुपान्तरण गर्ने प्रयास सधैं जारी नै रहेको छ । अब हाम्रो देशका मानिसहरूलाई अनेकौं उपाय लगाएर भए पनि कम्तीमा आफूलाई मौसमी तरकारी र सागपातको उत्पादनमा आत्मनिर्भर बनाउनु छ । बारी मासेर दुबो लगाउने गार्डेनवालाहरूलाई पनि तरकारी फलाउने बनाउनु छ । करेसाबारी नै नहुनेलाई पनि कौसी बरन्डा आदिमा फलाउन प्रेरित गर्नु पर्ने छ र यसरी करेसाबारी वा कौसीखेतीबाट लाभ लिएर आत्मनिर्भर हुन खोज्ने सम्पूर्णलाई प्राबिधिक सहयोग, तालिम, प्रशिक्षण दिएर अगाडी बढ्न प्रेरित गर्नु पर्ने छ्र । भिकारीपन, परनिर्भरता र लाचारपनबाट देशलाई छुटकारा दिएर स्वाभिमानी बनाउनु छ्र । यसको लागि हामी जस्ता कृषि प्राविधिकहरूसंग राज्यले समन्वय गरेर प्रत्येक गाउँ र शहरका नागरिकहरूलाई कृषिमा प्रोत्साहन गर्न जरुरी छ ।  

अहिलेको कोरोना महामारीले बजारसम्म तरकारी किन्न जान नसकिने अवस्थामा पनि रोगमुक्त छ कि छैन भन्ने त्रास र त्योभन्दा पनि सम्पूर्ण व्यवसाय ठप्प भएको र आम्दानी नभएको अवस्थामा किन्ने क्षमता समेत नहुँदा खेतीको महत्वको बारेमा अहिलेको अवस्थाले सबैलाइ अवगत गराएको छ । यो बेलामा आँफुले उत्पादन गरेको तरकारी उपभोग गर्न पाउँदाका फाइदाहरू बताइराख्न आवश्यक छैन । मेरो यो सोचलाई अलि ठूलो रुपमा र बढाइचढाइ भन्ने हो भने देश र समाजलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र वातावरण संरक्षण गरी जनस्वास्थ्य सुधार गर्ने भन्न मिल्छ तर म यो सोचलाई अपांगता भएको देश र समाजलाई वैशाखी टेकाउने प्रयास भन्न रुचाउँछु र एक दिन आफ्नो दैनिक आवश्यक हुने तरकारी र सागपात आफै उत्पदान गर्ने आत्मनिर्भर नेपाली समाजको विकास गर्न अगाडि बढेको छु र भनिन्छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय’।  

प्राञ्जल रिजाल

बि.एस.सी एग्रीकल्चर